बाह्रखरी कथा प्रतियोगितामा प्रथम भए नवीन अभिलाषी

काठमाडौँ — डिसहोम बाह्रखरी कथा प्रतियोगिता ले गरेको कथा प्रतियोगिताका बिजेता घोषणा गरिएको छ । उक्त कथा प्रतियोगितामा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ले डिसहोम बाह्रखरी कथा प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो । होटल सोल्टीमा आइतबार भएको कार्यक्रममा बाह्रखरीले उत्कृष्ट २५ कथा र कथाकारका नामसँगै सोहीमध्येबाट पहिलो, दोस्रो र तेस्रो विजेताको नाम घोषणा गरेको हो ।
कथाकार रमेशजंग थापाको ‘डढेको आकाश’ दोस्रो र रुमु न्यौपानेको ‘घुँघट’ तेस्रो भएको छ । तीन जनाले प्रमाणपत्र र ट्रफीसहित क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विजेतालाई शिक्षाविद् केदारभक्त माथेमा, डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायतले ट्रफी, चेक, प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा अजित रूपाबुङको ‘अब रुन्ना कहिल्यै,’ काशीलाल अधिकारीको ‘धमेलो,’ डा।गोमा अधिकारीको ‘बालन,’ चन्दन अर्यालको ‘नियति,’ चेतनाथ आचार्यको ‘राजकुमारी दिक्पाल,’ जनक कार्कीको ‘विरुपाक्ष,’ जीवन खत्रीको ‘लेख्न नचाहेको कथा,’ दीपेन्द्र दोङ तामाङको ‘देवता बनाउने मान्छे,’ द्वैपायन रेग्मीको ‘म अश्वत्थामा,’ डा. नवीनबन्धु पहाडीको ‘निर्धो समय’ लगायतका कथाहरू उत्कृष्ट २५ भित्र परेका छन् ।

बाह्रखरी बुक्सले उत्कृष्ट कथा चयनका लागि आन्तरिक र बाह्य गरी मूल्यांकनका दुई समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा.डा. कुमारप्रसाद कोइराला ‘संयोजक, सगुना शाह र उमा सुवेदी सदस्य थिए । आन्तरिक मूल्यांकन समितिमा बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारी र राजेश खनाल थिए । कार्यक्रममा शिक्षाविद् माथेमाले ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ पुस्तकको लोकार्पण गरे ।
कथामा ठूलो शक्ति हुने भएकाले यसको अध्ययनले वृत्तिविकास हुने उनले बताए । ‘कथाले मानव सभ्यतालाई नै फराकिलो बनाउँछ,’ उनले भने, ‘यसकै लागि मैले नेपालीसँगै विश्व साहित्यको समेत अध्ययन गर्ने गरेको छु ।’ उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूको कथासहित ३० कथाको सँगालो ‘१२ खरी उत्कृष्ट कथा–२०७९’ फाइन प्रिन्टले प्रकाशित गरेको हो भने कृतिको सम्पादन राजेन्द्र पराजुलीले गरेका हुन् ।
लोकार्पित कृतिमा आख्यानकारहरू धु्रवचन्द्र गौतम, माया ठकुरी, बेन्जु शर्मा, राजव तथा अविनाश श्रेष्ठका कथाहरू पनि समेटिएका छन् ।

 

Comments are closed.