Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसका महामन्त्री गगन थापाले सोमबारकेन्द्रीय समितिको बैठकपछि राखेको आफ्नो लिखित मत

Editorial Team by Editorial Team
December 2, 2025
in Nepal, News, Politics
0
कांग्रेसका महामन्त्री गगन थापाले सोमबारकेन्द्रीय समितिको बैठकपछि राखेको आफ्नो लिखित मत
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार सकिएको केन्द्रीय समितिको बैठकपछि आफ्नो लिखित मत दर्ज गराए ।
उनले सही नियत राखेर महाधिवेशनको मिति तय गरिएको नहुन सक्ने आशंका कायमै राख्दै नभए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने प्रष्ट पारेका छन् ।
यस्तो छ थापाले राखेको लिखित मत
आदरणीय कार्यवाहक सभापतिज्यू, पदाधिकारी ज्यूहरू तथा केन्द्रीय सदस्य साथीहरु,
मैले बैठकको प्रारम्भदेखि नै भन्दै आएको छु- “२०८२ भाद्र २३ र २४ अघि र पछिको अवस्था एकै होइन”। भाद्र २३ गतेसम्म नेपाली कांग्रेस प्रमुख साझेदारका रूपमा सरकारमा थियो, संसदमा ठूलो दल थियो। पार्टीका गतिविधि पनि सामान्य ढङ्गले चलिरहेका थिए। पार्टीको १५औं महाधिवेशन २०८३ मङ्सिरसम्ममा गर्ने मनस्थितिमा थियौं। तर अकस्मात जेन्जी पुस्ताले आह्वान गरेको प्रदर्शनले हामीलाई एउटा राष्ट्रिय उथलपुथलको सामुन्ने खडा गरिदियो। त्यो उथलपुथल पछि हामी प्रमुख साझेदारका रुपमा रहेको सरकार सडकबाटै अपदस्त भयो। अन्तरिम सरकार गठन भयो र संसद विघटित भयो। फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरियो। यसरी भाद्र २३/२४ को उथलपुथलले हामी उभिएको जमिन हाम्रै आँखा अगाडि भासियो। हाम्रा अगाडि सर्वथा अनपेक्षित भिन्न खालको परिस्थिति खडा भयो।

भाद्र २३-२४ मा जुन अकल्पनीय ढङ्गले तेज रफ्तारमा घटनाक्रम भए त्यस लगत्तै पछाडिको विशिष्ट परिस्थितिमा राष्ट्रिय राजनीति अगाडि बढेको छ। मैले यस बीचमा जति पनि पार्टीका साथीहरू र आम मानिसहरूका मत र धारणाहरू सुने, देखे, मनन गरे त्यसबाट पार्टी अब नियमित गतिविधिहरूबाट अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुगेर आम निर्वाचनभन्दा अगाडि पार्टीले अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने धारणा सार्वजनिक गरे। राजनीतिक दलहरू परिवर्तित परिस्थितिमा नयाँ नेतृत्व चयन गर्ने, पुनर्गठन गर्ने, दलहरूबीच एकता गर्ने अनेकन विधिबाट पहिले भन्दा बदलिएको संदेश सहित आम निर्वाचनको सामना गर्न रणनीति तय गरिरहेका देखिन्छन्। नेपाली कांग्रेस पार्टीले पनि यस्तो विशिष्ट राष्ट्रिय परिस्थितिमा सामान्य अवस्थामा जस्तो केन्द्रीय कार्यसमितिको म्याद थप नगरी तत्काल आवधिक अधिवेशनबाट नयाँ नीति र नेतृत्व चयन गरेर जानुपर्छ भन्ने मत असोज ३ गते पार्टी कार्यसम्पादनको बैठकमा राखेको थिएँ।
कांग्रेस पार्टीको ऐतिहासिक परम्परा नै पार्टीको र राष्ट्रिय सङ्कटमा राष्ट्रिय कार्यकर्ता भेला, महासमिति बैठक, विशेष अधिवेशन वा महाधिवेशनबाट नयाँ ताकत लिएर पार्टी र राष्ट्रिय संकटलाई नयाँ दिशानिर्देश गर्ने रहेको छ। हामीले कांग्रेसको त्यो गौरवशाली परम्परा बिर्सेर वर्तमान कार्यभार र इतिहासले कांग्रेस पार्टीलाई सुम्पेको दायित्व पुरा गर्न सक्दैनौं। हामी प्रश्नहरूबाट भाग्ने होइन इमान्दार र जागरुक भएर नेपाली राजनीतिको सबैभन्दा प्रभावशाली हतियार कांग्रेस पार्टीको भूमिकालाई निरन्तरता दिन सक्नुपर्छ।

कांग्रेसको इतिहास सिद्ध तथ्य हो कि इतिहासको निर्णायक क्षणहरूमा नेपाली कांग्रेस केन्द्रले आफ्नो सीमित इको-च्याम्बरभन्दा बाहिर निस्केर कार्यकर्ताहरूको बृहत्तर दायराबाट उनीहरूको आवाज सुनेर ऐतिहासिक निर्णयहरुलाई अनुमोदित गर्ने गर्छ त्यही भएर आम निर्वाचन भन्दा अगाडि सदस्य माझ जाने, उनीहरूको कुरा सुन्ने र सोही अनुरुप निर्णय गर्ने कुरा वैज्ञानिक, वस्तुसंगत र इतिहास परक हुन्छ।

मूलतः कांग्रेस पार्टीले महाधिवेशन मार्फत इतिहास प्रदत्त कार्यभार सम्पन्न गर्न- निकट विगतका कदमको समीक्षा गर्दै गल्तीप्रति प्रायश्चित गर्छ; जेन्जी उथलपुथलका क्रममा भएको परिवर्तनको आवाजलाई ग्रहण गर्छ; वैचारिक र नीतिगत स्पष्टतासँगै आगामी कार्यभार र कार्यदिशा तयार गर्छ; अति दलीयकरणबाट समाजलाई मुक्त गर्ने प्रतिबद्धता व्यक्त गर्छ; राजनीतिलाई पुनर्परिभाषित गर्नका लागि पार्टीको बृहत आन्तरिक सुधार गर्ने लगायत नयाँ सन्देश प्रवाहित गर्नेछ ।

असोज २७ गते पार्टीको कार्यसम्पादन समितिको बैठकमा मैले सोही अनुरूप समयमै आवधिक १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि कार्यतालिका समेत प्रस्तुत गरेको थिए। पार्टी सभापतिज्यूले पनि आफ्नो असोज २८ गतेको मन्तव्यमा नियमित समयमा (१४औं महाधिवेशन सम्पन्न भएको चार वर्षभित्रै २०८२ मङ्सिर) महाधिवेशन गर्ने कुरा उल्लेख गर्नुभएको थियो। सोही अनुरूप कार्य गरि कार्यतालिका पेश गर्न र कार्यान्वयन गर्न दिएको भए अहिले यो समयमा हामीले क्रियाशील सदस्यता निरूपण गरी तल्लो तहका अधिवेशनहरु सम्पन्न गरिसकेका हुने थियौं। तर, आम निर्वाचनका अगाडि पार्टीको अधिवेशन कुनै हालतमा गर्न हुँदैन भन्ने तर्क अगाडि सारेर अधिवेशन सम्बन्धी काम कारबाहीहरु रोकिए, रोक्न लगाइए।

हामीले करिब ४५ दिन खेर फालेका छौं। यसबीचमा राष्ट्रिय राजनीतिमा हामीले सम्पन्न गर्नुपर्ने नेतृत्वदायी हस्तक्षेपकारी कार्यहरूबाट चुक्यौँ। हामी आन्तरिक कुरामा नअल्झिएको भए नयाँ खुलेका दलमा लागि रहेका मानिसहरू कांग्रेस प्रति आकर्षित हुन्थे, जोडिन्थे। पार्टीभित्र र बाहिर नयाँ उर्जा र उत्साह संचार भैसकेको हुन्थ्यो।

अन्ततः ४५ दिनपछि पुस मसान्त अगाडि नै केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका आज पार्टी केन्द्रीय कार्यसमितिमा पेश भएको छ। अहिले प्रस्तुत गरिएको कार्यतालिका अन्तर्गत निर्धारित समयमै नेपाली काङ्ग्रेसको १५औं महाधिवेशन गर्ने कार्य निकै चुनौतीपूर्ण छ। असोजमा नै कार्यतालिका पेश गरेर कार्यान्वयन गर्न पाएको भए आज अधिवेशन सहजतापूर्वक सम्पन्न गर्ने मार्गमा हुने थियौं, समयमै महाधिवेशन संभव थियो। ४५ दिनको गुमेको दिव्य समय कसरी प्रस्तावित समयावधिमा परिपुरण गर्न सक्छौं? यसरी महाधिवेशन गर्ने कुरा अब मूलतः नियतमा भर पर्दछ। जहाँबाट ४५ दिन अघि नै हुँदैन संभव छैन भनेर रोक्न कसरत भयो र अलमलाइयो, अहिले ४५ दिनपछि आएर हुन्छ भन्ने ठाउँमा सदनियतका साथ आइपुगेको हो? यदी त्यसो हो र नियत ठिक भयो भने मात्र निर्धारित समयमा अधिवेशन सम्भव हुन सक्छ, नियत ठिक भएन भने कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन सम्भव छैन।  म दोहोर्‍याएर भन्न चाहन्छु- – मूलतः नियमित महाधिवेशन हुने वा नहुने कुरा कार्यतालिका कार्यान्वयनको नियतमा भर पर्दछ। एकातर्फ पार्टी विधानको दफा १७ (१) अन्तर्गत १५ औं महाधिवेशनको कार्यतालिका पेश गरिएको छ भने अर्कातर्फ विधानको दफा १७ ( २ ) अन्तर्गत विशेष अधिवेशनका लागि पार्टीका ५४ प्रतिशतभन्दा ज्यादा साथीहरुले गरेको हस्ताक्षर (असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता नम्बर १०१ सहित दर्ता गरेको विशेष अधिवेशनको माग) यथावत रहेको कुरा साथीहरूलाई अवगत नै छ। स्मरण रहोस: विधानत: विशेष महाधिवेशनको वाध्यकारी समयसीमा पुस २९ हो। ती हस्ताक्षरकर्ता साथीहरूको हस्ताक्षरको निहीतार्थ वा उद्देश्य भन्नुस् निर्वाचन अगाडि पार्टीले अधिवेशन सम्पन्न गर्नै पर्छ भन्ने थियो। म ती तमाम साथीहरूलाई धन्यवाद दिन चाहन्छु जसको निरन्तर दबाव र खबरदारी समेतले गर्दा पार्टी आम निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने निर्णयमा पुगेको छ।

हामीले हेक्का राख्नै पर्दछ, विशेष अधिवेशनका हस्ताक्षरकर्ताहरूले १५औं महाधिवेशनको कार्यतालिका मात्र मागेका होइनन्, उनीहरुले स्पष्ट भाषामा आम निर्वाचनमा सहभागि हुनु अगावै कि नियमित १५औं महाधिवेशन गर होइन भने विशेष अधिवेशन सम्पन्न गर भनेर भनेका हुन्।
हामीले महाधिवेशनबाट नयाँ सन्देश नलिईकन आम निर्वाचन अर्थात् जनताको सामना गर्न सक्दैनौँ। आजको मूल विषय यही हो। आलटाल गर्ने नियत राख्दा पार्टीभित्रका कार्यकर्ताहरू, साथीहरू झुक्किएलान् तर आम जनता र मतदाता झुक्किँदैनन्। हाम्रो जवाफदेहिता पार्टी कार्यकर्ताहरु, साथीहरु भन्दा पर हाम्रा शुभेच्छुक र मतदाताहरूमा ज्यादा छ। आम निर्वाचनका लागि सहभागी हुँदै गर्दा जनअनुमोदित हुन जनता माझ जानु अगाडि पार्टी पंक्तिबाट अनुमोदित, साथीहरूबाट अनुमोदित नयाँ नीति, नेता र संदेश लिएर जाने कुराबाट हामी च्युत भयौं भने जनतालाई त्यो स्वीकार्य हुने छैन। यो कुरामा सिङ्गो पार्टी प्रष्ट हुन आवश्यक छ।
बैठकको सुरुवात देखि मेरो मूल मत त्यही नै रहेको छ।
अब प्रष्ट छ, पौष महिनाभित्र कार्यतालिका बमोजिम १५औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पौषको अन्तसम्म कुरिराख्नु पर्दैन, पौष महिनाको उपयुक्त समयमा नै निर्णय गरेर विशेष महाधिवेशन गर्ने तर्फ लाग्नु पर्दछ।
पार्टीको बृहत्तर हितका लागि आम निर्वाचनभन्दा अगाडि अधिवेशन सम्पन्न गर्नुपर्छ भन्नेमा म प्रष्ट छु। यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न इमानदारीपूर्वक काम गर्नेछु। यही होस् भन्ने कामना गर्दछु। कथमकदाचित यो तलमाथि हुने भयो भने विधानले निर्दिष्ट गरे बमोजिम दर्ता भएको विशेष अधिवेशन पौष २८ भित्र गर्नेगरी लाग्नेछु।
अत: निर्वाचन अगाडि महाधिवेशनको बिकल्प नरहेकोले प्रस्तावित कार्यतालिकामा उल्लेखित समयभित्र विधानको धारा १७(१) बमोजिम नियमित १५औं महाधिवेशन नभएमा, नहुने भएमा विधानको धारा १७(२) बमोजिम बहुसंख्यक महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष केन्द्रीय महाधिवेशन माग गरिसकेको अबस्थामा ३ महिनाभित्र अनिवार्य रुपमा विशेष महाधिवेशन आव्ह्वान गर्नैपर्ने वैधानिक व्यबस्था भएकोले सो अनुसार सोही मितिमा स्वत: विशेष केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्ने।
मैले यो धारणालाई लिखित मतको रुपमा पार्टी बैठकको निर्णय अभिलेखमा दर्ज गर्न चाहन्छु।
धन्यबाद, जय नेपाल।
गगनकुमार थापा
महामन्त्री
मिति: २०८२ मंसिर १५

Advertisement Banner
Previous Post

सडक डिभिजन कार्यालय काठमाडौँ द्वारा‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु

Next Post

मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती

Editorial Team

Editorial Team

Next Post
मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती

मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती

Recommended

Uttarakhand’s Valley of Flowers opens for tourists

Uttarakhand’s Valley of Flowers opens for tourists

4 years ago
Contempt of court case filed against PM Karki over ambassadors’ recall

Gen Z leaders demand dismissal of PM’s chief personal secretary

3 months ago

Don't Miss

Nepal Oil Corporation announces 10 percent dividend

Nepal Oil Corporation bans fuel hoarding

March 4, 2026
Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

Nepal imported nearly 1.9 million liters of alcoholic beverages worth Rs 1.634 billion during the first seven months

March 4, 2026
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

March 4, 2026
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.