‘नित्या रञ्जना’ युनिकोड फन्ट सार्वजनिक

काठमाडौं- नेपाल कला परिषदमा शनिबार ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ। रञ्जना नेपालको मौलिक लिपि हो। मौलिक र प्राचीन भइकन पनि यी अक्षरहरूको प्रयोग, प्रवर्द्धन हुन सकेको थिएन।

क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरूको सक्रियताले लिपि प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपि सिक्न सक्ने स्वरूपमा रूपान्तरण भएकाे हाे।

यो लिपिलाई इण्डो आर्यन, मंगोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान जोडिएको छ।

लिपि सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मौलिक लिपि विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको भएको बताइन्।

सन् २०१९ मा जापानमा भएको लिपि सम्मेलनमा रञ्जना लिपिको प्रस्तुतिकरण भएको थियो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आफ्नै मौलिक लिपिमा भाव प्रकट गर्न सक्ने स्वरुपमा ल्याउनु ठूलो उपलब्धी भएको उल्लेख गरे। प्रविधिमा आधारित प्रयोगले लिपि संरक्षणमा योगदान पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै इजरायलका लागि नेपालका पूर्व राजदूत डा. अञ्जना शाक्यले, महानगरपालिकाकी उपप्रमुख डंगोलको लिपि संरक्षण अभियान र प्राप्त लिपि क्वीन उपाधिका विषयमा चर्चा गर्दै लिपि पुस्तान्तरणमा उनको योगदान उच्च स्थानमा रहेको उल्लेख गरिन्।

लिपिलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले लिपीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत विषयमा छलफल तथा गोष्ठीबाट पृष्ठपोषण लिइएको थियो।

फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनकाअनुसार रञ्जना लिपिलाई डिजिटलाइजेसन गर्न भारतको फन्ट डिजाइन कम्पनी एक टाइपसँग सहकार्य गरिएको हो।

युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ। देवनागरिक युनिकोडका साथै नेबा युनिकोडमा पनि उपलब्ध हुनेछ। यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकूलित छ।

कार्यक्रममा लिपि विशेषज्ञहरू राम खइतु, अनिल स्थापित, शिव डंगोल, रातन कर्ण, अशोकमान सिंह, दर्शन शाक्य, सनिर कर्माचार्य, मोबिनसन शाक्य, रविन्द्र पाछैसहित क्यालिग्राफर, टाइपोग्राफर, डिजाइन प्रोफेसनल, फन्ट डिजाइनरहरूका बीच लिपि संवाद भएको थियो।

संवादमा अहिलेसम्म उपलब्ध नेवा फन्ट र सार्वजनिक भएको फन्टका बीचमा भएको भिन्नता र नयाँ फन्ट प्रयोग गर्नु पर्ने कारणका विषयमा कुराकानी भएको थियो।

पुराना फन्टको दाँजोमा नित्या फन्ट कलात्मक र प्राविधिक रूपमा सुधारिएको हुनाले रञ्जना लिपिलाई प्रवर्धन गर्न, विगतमा देखिएका अशुद्ध अक्षर तथा शव्दलाई शुद्ध बनाउन उपयोगी हुने सहभागीहरुले विश्वाश व्यक्त गरे।

त्यसबाहेक कार्यक्रममा रञ्जना फन्ट बुकलेट वितरण, रञ्जना अपडेटेड एप बारे जानकारी, फन्ट डिजाइन प्रदर्शन, रञ्जना लिपि विशेषज्ञ आनन्द कुमार महर्जनको फन्टसँग सम्बन्धित प्रस्तुतिसमेत रहेको थियो।

Comments are closed.