साहित्यकार पारिजातको ३० औं स्मृतिदिवस सम्पन्न

२०८० बैशाख

सुप्रसिद्ध साहित्यकार पारिजातको ३० औं स्मृति दिवस सम्पन्न गरिएको छ । पारिजात स्मृति केन्द्रको आयोजनामा स्मृतिभवन म्हेपी, नयाँबजारमा सम्पन्न उक्त कार्यक्रम केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका वि. सं. २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुहुँदै महाकवि देवकोटा पछि नेपाली साहित्यमा दोस्रो स्थान पारिजातको रहेको विचार प्रस्तुत गर्नुभयो ।

उक्त स्मृति सभामा पारिजात स्मृति केन्द्रका संरक्षक एवम्  पारिजातकी बहिनी सुकन्या वाइबा विशिष्ट अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा २०७९ का लागि प्रदान गरिएका पारिजात सम्मानहरू प्राप्त गर्नुहुने विशिष्ट व्यक्तित्वहरू पारिजात सङ्घर्षशील नारी सम्मान- २०७९ प्राप्त गर्नुहुने सङ्घर्षशील नारी व्यक्तित्व गोमा देवकोटा, पारिजात सिर्जन सम्मान -२०७९ प्राप्त गर्नुहुने साहित्यकार शार्दूल भट्टराई, पारिजात बालसाहित्य सम्मान- २०७९ प्राप्त गर्नुहुने बालसाहित्यकार गङ्गा कसजू र पारिजातकला सम्मान -२०७९ प्राप्त गर्नुहुने सङ्गीतकार गुज्जे मालाकारले संक्षिप्त मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिनाले उक्त कार्यक्रमको संचालन गर्नुभएको थियो भने इसास कीर्तिपुरका कलाकारहरूले पारिजात गीत प्रस्तुत गर्नुभएको थियो ।

Comments are closed.