‘पशुपति प्रसाद २: भष्मे डन’ को यस्तो छ ‘प्रेम शरणम्’भिडियोसहित

काठमाडौंँ । आगामी कार्तिक ४ अर्थात् दशैंको फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘पशुपति प्रसाद २ : भष्मे डन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार समेत ब्यापक बनाएको छ ।

यस्तै निर्माण युनिटले फिल्मको दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरेको छ । विपिन कार्की र स्वस्तिमा खड्का प्रस्तुत गरिएको गीतमा माया प्रेमलाई दखाउन खोजिएको छ ।

र्याप समिश्रण रहेको गीतमा कृष्ण भारद्धाजको संगीत तथा सुशील पौडेल र संगीतकार भारद्धाजको शब्द, काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर छ । प्रविन सिंहको कोरियोग्राफी गीतमा छ । गीतमा संगीतकार भारद्धाज आफैंले र्यापमा स्वर भरेका छन् ।

फिल्म पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा विपिनका र स्वस्तिको अलवा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको अभिनय छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा शिवाकोटीको पनि फिल्ममा विशेष भूमिका छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई खगेन्द्रले निर्माण गरेका हुन् । लामिछानेकै लेखन रहेको फिल्ममा कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

सफल फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल यो फिल्म पहिलो सिक्वेलको चरित्र ‘भष्मे डन’ मा केन्द्रित छ । फिल्मलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछ ।

Comments are closed.