बिर्तामोड, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम साहित्यकार मिश्र वैजन्तीको प्रमुख आतिथ्यमा बिर्तामोडमा भएको कार्यक्रममा साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित ‘ढुङ्गा, माटो र म’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।
प्रगतिशील लेखक संघ झापाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मिश्र वैजन्ती, प्रगतिशील लेखक संघ प्रदेश नं. १ का अध्यक्ष तीला लेकाली, प्राज्ञ सुभद्रा भट्टराई, सिक्किमेली स्रष्टा राजन शिवाकोटी, वरिष्ठ अधिवक्ता लीला उदासी र प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला लगायतले साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित ‘ढुङ्गा,माटो र म’ कविता सङ्ग्रहको लोकार्पण गर्नु भएको थियो ।
लोकार्पित कृतिको परिचयात्मक चर्चा समीक्षकद्वय शारदा शर्मा र होम सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मिश्र वैजन्ती, तीला लेकाली, लीला उदासी, सुभद्रा भट्टराई, राजन शिवाकोटी, राजेन्द्र सङ्ग्रौला, आख्यानकार पुण्यप्रसाद खरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पुण्यप्रसाद खरेलले लोकार्पित कृतिबाट ‘ओ ओसामा विन लादेन’, नमुना निरौला दाहालले ‘ए मन’, देवीचरण भण्डारीले ‘आमा’, लतिका जोशीले ‘बाटो’, सुमित्रा वाङ्देन चेलीले ‘आमा र आमाहरू’, खगीन्द्रा खुसीले ‘फूलमाया’, मायामितु नेउपानेले ‘सिलगुडीबाट’, तीला लेकालीले ‘दुबो हुँ म’, विवश बलिभद्र कोइरालाले ‘उपहार’ र हरिप्रसाद नेउपानेले ‘म नेपाली हुँ’ शीर्षकको कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा कृतिकार भवानी क्षेत्रीले वनस्पतिजन्य विरुवाहरू र ढुङ्गामा आफैँले बनाएका सांकेतिक भाव भएका ढुङ्गाहरू मायाको चिनोका रुपमा प्रदान गर्नुभएको थियो । प्रगतिशील लेखक संघ झापाकी उपाध्यक्ष आरती पोखरेलले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन विन्दु दाहाल मूकदर्शकले गर्नु भएको थियो ।
Comments are closed.