बाँके । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरले कवि, समालोचक तथा प्राज्ञ प्रा.डा. देवी नेपाललाई प्रतिष्ठानको प्रतिष्ठित पुरस्कार ‘पूर्णिमा साहित्य रत्न–२०८०’ बाट सम्मानित गरेको छ। बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भव्य समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो। समारोहमा लुम्बिनी प्रदेश सांसद वसन्ती अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो।
प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रष्टा गणेश जी.सी.लाई ‘तुलसीराम स्मृति पुरस्कार–२०८०’ र हालै विद्यावारिधि उपाधि प्राप्त डा. हरिप्रसाद तिमिल्सिनालाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो।
प्रमुख अतिथि ढकालले भाषा साहित्यको संरक्षण र संवद्र्धनमा राज्यको नयाँ योजना आवश्यक रहेकोमा जोड दिँदै, स्रष्टाको तीनवटा कृतिमध्ये कम्तिमा एउटामा राज्यको लगानी हुनुपर्ने धारणा राख्नुभयो। उहाँले प्रा.डा. नेपाललाई कोहलपुरले सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो।
विशिष्ट अतिथि अधिकारीले साहित्य समाजमुखी र जीवनमुखी हुनुपर्नेमा जोड दिँदै, सामाजिक चेतना र जागरणका संवाहक प्रा.डा. नेपाललाई सम्मान गर्नु पूर्णिमा प्रतिष्ठानको गौरव भएको विचार व्यक्त गर्नुभयो।
प्रतिष्ठानका उपाध्यक्ष खोपीराम वलीले प्रा.डा. नेपालको ३३ वटा मौलिक कृति, ३४ वटा पाठ्यपुस्तक, १७ वटा सम्पादित कृति र अनेकौं लेखरचनाहरूले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्नुभयो। उहाँले प्रा.डा. नेपालले नेपाली साहित्यमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै ‘पूर्णिमा साहित्य रत्न’ प्रदान गरिएको जानकारी दिनुभयो। वलीले तुलसीराम स्मृति पुरस्कारबाट गणेश जी.सी. र डा. तिमिल्सिनालाई सम्मान गर्न पाउँदा प्रतिष्ठान गौरवान्वित भएको बताउनुभयो।
पुरस्कृत प्रा.डा. नेपालले साहित्यलाई केन्द्र र मोफसलमा विभाजन गर्नु नहुने, सिर्जना जहाँ भए पनि त्यहीँ केन्द्र हुने भन्दै पूर्णिमाले आफूलाई सिर्जनाकर्ममा थप जिम्मेवार बनाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा उहाँले ‘गान्धारी निस्क बाहिर’ लगायतका नौवटा सिर्जनाहरू प्रस्तुत गर्नुभयो। कार्यक्रममा ‘सङ्घर्ष र सँगाती’ शिर्षकमा प्रा.डा. जनार्दन आचार्य र किरण आचार्यले आफ्नो जीवनसाथी संगको सङ्घर्षका कथाहरू सुनाउनु भएको थियो।
कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू, शिक्षकहरू, साहित्यिक व्यक्तित्वहरू, पत्रकारहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो। ‘पूर्णिमा साहित्य रत्न’को नगद राशि २५ हजार ५ सय ५५ र ‘तुलसीराम स्मृति पुरस्कार’को नगद राशि ७ हजार ७ सय ७७ रूपियाँ रहेको प्रतिष्ठानका सचिव केशव निमेषले जानकारी दिनुभयो।
Comments are closed.