बालपुस्तक ‘जादुई कमिज’ प्रकाशित

बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ ।

रहस्यमय कथा समेटिएको यो पुस्तकमा हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ । राजकुमारीले हरेक रात नयाँनयाँ जुत्ता लगाएर सुते पनि बिहान प्वाल परेपछि राजा छक्क पर्छन् र कसैले यो रहस्य पत्ता लगाए छोरीसँग उसको बिहे गरिदिने घोषणा गर्छन् । त्यसपछि यो काम आफूले गर्न सक्ने प्रस्ताव लिएर राजाकहाँ पुगेको मुडुले केटोको यात्रा र योजना नै कथाको रोचक पक्ष हो ।
सेतो घोडा र तीन महिना समय लिएर निस्केको मुडुले केटोले बाटोमा कसरी जादुई कमिज भेट्टाउँछ र त्यसको सहयोगले कसरी राजकुमारीको जुत्ता प्वाल पर्ने रहस्य पत्ता लगाउँछ भन्ने चासोलाई रमाइलो तरिकाले व्याख्या गरिएको छ । दिनहुँ टाउको दुखाइको विषय बनिरहेको घटनाको रहस्य अन्ततः कसरी सुल्झिन्छ ? के राजाले मुडुलो केटोलाई राजकुमारी सुम्पेलान् ? यो बाल चित्रपुस्तकले बताउँछ ।
नार पब्लिसिङले टर्किस भाषामा ‘सिहिर्ली गोम्लेक’ शीर्षकमा प्रकाशन गरेको पुस्तकलाई कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले नेपालीमा अनुवाद गरेकी हुन् । टर्किस लेखक मुस्तफा रुही सिरिनको यो कथामा ओस्मन खेहरीले चित्रांकन गरेका छन् ।
सन् १९५५ मा टर्कीको ट्राब्जनमा जन्मिएका लेखक सिरिनले बालबालिकासम्बन्धी लेखन र कला, साहित्यमा लामो अनुसन्धान गरेका छन् । आफ्नै गाउँ मक्का र अह्लातमा प्राथमिक शिक्षा हासिल गरेका उनले उच्च शिक्षा भने एआईटीआईए जर्नालिजम् एन्ड पब्लिक रिलेसन्स स्कुलमा पूरा गरे । उनले त्यहाँ १९७४ देखि १९७८ सम्म रेडियो–टेलिभिजन कार्यक्रममा विशेष ज्ञान पनि हासिल गरे । उनले अंकारा विश्वविद्यालयको शैक्षिक विज्ञान संकायबाट आर्ट हिस्ट्री विषयमा पनि अध्ययनलाई अघि बढाएका थिए ।

 

 

Comments are closed.