काठमाडौँ — सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा नाटक ‘खत’ मञ्चन हुने भएको छ । दश वर्षे सशस्त्र जनयुद्धलाई मूल विषय बनाइएको नाटक यही चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म मञ्चन गर्ने निधो गरिएको रंगकर्मी सुलक्षण भारतीले बताए ।
भारतीकै लेखन तथा निर्देशन रहेको नाटक ‘खत’ले तत्कालीन युद्धको कथालाई लिएर आम मानिसमा पारेको प्रभावलाई मूल रुपमा उठान गर्न खोजेको भारतीले बताए ।
‘नाटकले द्वन्द्वकालको कथा जोडेर अहिलेको अवस्थालाई बताउँछ‚’ उनले भने, ‘द्वन्द्वमा लडेका जनमुक्ति सेनाले के पाए, उनीहरूको अवस्था कस्तो छ र देशले निकास पायो कि पाएन भनेर नाटकले खोजी गरेको छ ।’
नाटकले जनयुद्धलाई टेकेर सत्तामा पुगेको राजनीति र सत्ताधारीहरूलाई समेत खोतल्ने प्रयास गरिएको भारतीले सुनाए । नाटकका माध्यममा जनयुद्धले बनाएको घाउको खतलाई आम मानिसमा देखाउने जमर्को गरिएकाले आफ्नो प्रयासलाई सबैले साथ र समर्थन गर्नेमा भारती विश्वस्त छन् ।
Comments are closed.