रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित

काठमाडौँ —रमा-कृष्ण सृजना प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभाहरूलाई सम्मानित र पुरस्कृत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले क्रमशः २०८० र २०८१ सालका लागि कवि भवानी घिमिरेस्मृति रमा-कृष्ण साहित्य सम्मानबाट साहित्यकार तथा समालोचक प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. अभि सुवेदीलाई सम्मानित गर्नुभयो ।
यसैगरी डा. त्रिपाठीले वीर झागल गुरुङस्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कारबाट सङ्गीतसाधक बुलु मुकारुङ र राजकुमार श्रेष्ठलाई पुरस्कृत गर्नुभयो भने
डा. हर्क गुरुङस्मृति रमा-कृष्ण विज्ञान/प्रविधि पुरस्कारबाट वैज्ञानिक, अन्वेषक डा. मनीषराज पाण्डे र डा. इन्द्रप्रसाद सुवेदीलाई पुरस्कृत गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले रमा-कृष्ण सृजना प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तररूपमा साहित्य, कला र विज्ञान क्षेत्रका साधक, अन्वेषकहरूलाई यसरी नै सम्मानित पुरस्कृत गर्दै आउनु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भवानी घिमिरे, वीर झागल गुरुङ र डा. हर्क गुरुङका योगदानलाई पनि स्मरण गर्नुभयो ।
यी सम्मान र पुरस्कारमा क्रमशः पन्ध्र हजार र दश दश हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेका छन् ।
प्रा.डा. चूडामणि बन्धुले आफू पछिल्लो समयमा नेपाली बालसाहित्यका क्षेत्रमा क्रियाशील रहेको जानकारी गराउँदै प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रमा योगदान गरेका स्रष्टा साधकहरूलाई खोजेर सम्मानित पुरस्कृत गर्नु उल्लेखनीय रहेको बताउनुभयो ।
प्रा.डा. अभि सुवेदीले प्रतिष्ठानले सम्मानित गरेकामा खुसी व्यक्त गर्दै बाबुआमाका नाउँमा संस्था स्थापित गर्नु र भवानी घिमिरे, झागल गुरुङ र डा. हर्क गुरुङजस्ता अग्रजको स्मृतिमा सम्मान, पुरस्कार स्थापना गर्नु प्रशंसायोग्य छ भन्नुभयो ।
बुलु मुकारुङले गीतसङ्गीतका क्षेत्रमा आफूले गरेको कार्यको स्मरण गर्दै पुरस्कृत भएकामा खुसी व्यक्त गर्नुभयो ।
राजकुमार श्रेष्ठले आफूले यहाँसम्म आइपुग्न गरेको सङ्घर्षका बारेमा जानकारी गराउँदै सङ्गीतसम्राट् अम्बर गुरुङको सान्निध्यले आफू नेपाली अर्केष्ट्रा सङ्गीतमा लागेको बताउनुभयो ।

कार्यक्रममा डा. गीता त्रिपाठी, डा. इशान गौतम र डा. अञ्जना सिंहले सम्मानित पुरस्कृत प्रतिभाहरूका बारेमा परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लक्ष्मी उप्रेतीको कवितासङ्ग्रह ‘तरङ्गित धुन’ को अङ्ग्रेजी अनुवाद ‘Ripples of Emotions’ को विमोचन गरिएको थियो । विमोचित कृतिका बारेमा समालोचक डा. बलराम अधिकारीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति इ. महेन्द्रबहादुर गुरुङले सम्मान र पुरस्कार ग्रहण गरिदिएकामा खुसी र कृतज्ञता व्यक्त गर्दै अग्रज स्रष्टाहरूका तीनवटा कविता वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका महासचिव तथा कार्यक्रमका सहजकर्ता यादव भट्टराईले नेपाली समाजका विशिष्ट साधक अन्वेषकहरूले सम्मान पुरस्कार ग्रहण गरिदिनुभएर रमा-कृष्ण सृजना प्रतिष्ठान स्वयम् सम्मानित भएको बताउनुभयो ।
प्रतिष्ठानका सचिव सीताराम गुरुङले स्वागत मन्तव्य र उपाध्यक्ष लक्ष्मी उप्रेतीले धन्यवाद ज्ञापन गर्नुभएको सो समारोहको अन्त्यमा अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा समूहले राजकुमार श्रेष्ठको निर्देशन र सुधाकर वस्तीको सहसंयोजनमा वृन्दवादन प्रस्तुत गरेको थियो ।

 

 

Comments are closed.