रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ लक्ष्मी माली एवं बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा बुढानीलकण्ठको एक कोठामा आ आफ्ना परम्परागत जातिगत लुगा र गहना बोकेर आइसकेका थिए ।

एउटा पोकामा हाकु पटासी र तायो थियो भने अर्को पोकामा  थियो आङ्ग्रे र हारी ।

त्यही बेला दुबैको फोन तारन्तार बजिरहेको थियो । फोन गर्नेहरुले सोधिरहेका थिए

दिदी हामी कहाँ आउने ? दुबै जनाले जवाफ दिइरहेका थिए,  ‘बुढानीलकण्ठ मन्दिरको  चौतारा ।’

–त्यहाँ पनि चौतार छ र ?

–छ छ ।

यसरी कवि कलाकारहरु जम्मा भइरहेका थिए ।

सन्दर्भ थियो फागुन ९ को अन्तर्राष्ट्रिय मातृभाषा दिवस । रातोघर फाउण्डेसनले यही अवसर पारेर नेपालका बिविध भाषाका कविहरुलाई कविता वाचनका लागि निम्तो दिइसकेको थियो ।

बुढानीलकण्ठ मन्दिर परिसर पुगेपछि  कवि कलाकारहरुलाई जम्मा गरी त्यो भन्दा माथि तौलुङ चौतारा लानु थियो । एक बजे जम्मा भएर तौलुङ पुग्दा डेढ बजिसकेको थियो ।

त्यहाँ पुग्दा स्थानीय कलाकारहरु आफ्नो परम्परागत भेषमा बाहिर चौतारामा माइक सिस्टमसहित तुङ्ना बजाएर स्वागत गरिरहेको थिए । अगाडि तामाङ्ग सांस्कृतिक परम्परा अनुसार फूल फलफुल, पानी भरेको माटोको घैला छयुमी बालेर राखिएको थियो ।

अतिथि एक समूहले कवि कलाकारहरुलाई टोटलाको फूल निधारमा टाँसेर खादा ओढाएर स्वागत गरिरहेका थिए भने अर्को समूह टुङ्ना र डम्फु बजाएर स्वागत धून बजाइरहेका थिए । न्यानो घाम, सरसरी हावा चलेको रमणीय प्राकृतिक वातावरणमा एकछिन स्वागत कार्यक्रम सकिसकेपछि माथि हलमा कविता वाचनको औपचारिक कार्यकम शुरु भयो ।

काठमाडौं उपत्यकाको उत्तरी भेग बुढानीलकण्ठ नगरपालिका–१ स्थित तौलुंग चौतारा र स्थानीय सामुदायिक भवनमा सञ्चालित कार्यक्रम सोही वडाका वडाध्यक्ष सुरेन्द्र लामाको व्यवस्थापन तथा स्थानीय जनताको सहभागितामा भएको थियो ।

उक्त कार्यक्रममा खारुमी राईले बान्तवा भाषामा, भूमिका थारूले थारू भाषामा, बुङातुङ चाम्लिङले चाम्लिङ भाषामा, राकेश बुढा मगरले मगर भाषामा, हेमन्ती केवरतले केवरत भाषामा, शोभा सुनुवारले सुनुवार भाषामा, कवि अनिता लामा र फुल कुमार बम्जनले तामाङ भाषामा कविता वाचन गरे । कविता वाचनपछि विभिन्न भाषाका सांस्कतिक गायन, वाद्यवादन, नृत्य समेत प्रस्तुत भएको थियो ।

त्यस्तै, इन्द्रमान महर्जन, प्रशान्त डंगोल र लक्ष्मी माली, स्नेह सायमीले नेपाल भाषामा, विना थिङ तामाङ, गीता त्रिपाठी र आरएम डंगोलले खस नेपाली भाषामा कविता वाचन गरे । अनौपचारिक रुपमा संचालन गरिएको  कार्यक्रममा  वडाध्यक्ष सुरेन्द्र लामाले स्वागत गरे ।

Comments are closed.