काठमाडौं । द्वन्द्वग्रस्त मुलुक म्यानमार पुर्याएर अनलाइन ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार गरिएको छ । ७ नेपाली सहित २० देशका २६० जनालाई ठगी धन्दामा संलग्न गराउने समूहबाट उद्धार गरेर म्यानमारको विद्रोही समूहले थाइल्यान्डको सेनालाई जिम्मा लगाएको हो ।
म्यानमारको जातीय सशस्त्र समूह डेमोक्रेटिक करेन बेनिभोलेन्ट आर्मी (डीकेबीए)ले थाइल्यान्डसँगै सीमा जोडिएको करेन राज्यको मेवाडीबाट नेपाली सहित २० मुलुकका नागरिकलाई उद्धार गरी थाई सेनालाई हस्तान्तरण गरेको हो । डीकेबीएका सैन्य प्रमुख मेजर स सान आङले मानव तस्करी गरी ल्याइएका विदेशी कामदार खोज्ने क्रममा मेवाडी जिल्लाका क्यासिनोमा छापा मारी ७ नेपाली सहित २६० विदेशीलाई उद्धार गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उद्धार गरिएकाहरूमा नेपाली सहित इथियोपिया, केन्या, फिलिपिन्स, पाकिस्तान, मलेसिया, चीन, लाओस लगायत २० मुलुकका नागरिक छन् ।
थाइल्यान्डस्थित नेपाली राजदूत धनप्रसाद ओलीले थाई सेनालाई जिम्मा दिइएका ४ नेपालीबारे औपचारिक पुष्टि भइसकेको र उनीहरू सुरक्षित रहेको जानकारी दिनुभयो । हिजो र आज जिम्मा लगाइएका अन्य ३ नेपालीबारे भने औपचारिक जानकारी आउन बाँकी रहेको उहाँको भनाइ छ । म्यानमारमा साइबर बन्धक बनाइएका १३ जनाको नाम र तस्बिर सहितको जानकारी थाई सेनालाई दिइएको पनि उहाँले बताउनुभयो ।
उता म्यानमारका नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले बाँकी ६ जनालाई पनि उद्धार गरी थाई सेनालाई जिम्मा लगाउने पहल भइरहेको जानकारी दिनुभयो । म्यानमारका विभिन्न कम्पनीमा अनलाइन ठगी धन्दामा लगाइएको भन्ने जानकारी आएपछि उद्धारका लागि म्यानमार सरकारसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।मानव तस्करको गिरोहले नेपाली युवायुवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर द्वन्द्वग्रस्त म्यानमार पुर्याउने गरेका छन् । उनीहरूलाई त्यहाँ क्रिप्टोकरेन्सी कारोबार, साइबर ठगी, सट्टेबाजी लगायतका अवैध कार्य गर्न लगाइने गरिएको छ । गिरोहले मासिक ५० हजार डलरसम्म कमाइ गर्न दबाब दिने गरेको र लक्ष्य नपुर्याउनेलाई यातना दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत फेब्रुअरी ६ मा पनि ३६ चिनियाँ सहित ६१ जनाको उद्धार गरिएको थियो ।
पछिल्ला दिनमा म्यानमारको सरकारी सेनाले समेत अनलाइन ठगीको गिरोह विरुद्धको अभियान सञ्चालन गरेको छ । म्यानमारमा अवैध अनलाइन ठगी धन्दाका कारण सीमा सुरक्षाको खतरा देखिएपछि थाई सरकारले गत साता सीमामा रहेका पाँच गाउँको बिजुली, इन्टरनेट तथा इन्धन आपूर्ति समेत पूर्ण रूपमा बन्द गरिदिएको थियो भने बैंक कारोबार र भीसामा समेत कडाइ गरेको थियो ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.