साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, खड्का र पौड्याललाई

साहित्यपोस्टले हरेक वर्ष डेब्यु लेखकहरुलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरुमा अर्पण गरेको छ ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवास तथा दहीचिउरा खाने दिनको अवसरमा एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक कार्यक्रमका पुरस्कार अर्पण गरिएको हो ।

कार्यक्रममा विजेता घोषणाका साथै पुरस्कार वितरण गरिएको हो ।

घोषणाअनुसार यस वर्षको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’लाई प्रदान गरिएको छ भने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ सागर खड्काको उपन्यास ‘राइपाली भन्ज्याङ’लाई प्रदान गरिएको छ ।

त्यस्तै, ‘साहित्यपोस्ट उत्तम गैर–आख्यान पुरस्कार’ उमाकान्त पौड्यालको अनुसन्धानात्मक कृति ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको छ । विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशिका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा काव्यतर्फको पुरस्कारको घोषणा साहित्यपोस्टको अङ्ग्रेजी संस्करण सम्पादक महेश पौड्यालले गरेका थिए भने आख्यानतर्फको पुरस्कारको घोषणा साहित्यपोस्ट नेपाली संस्करणका सम्पादक कृष्ण ढुङ्गेलले गरेका थिए । त्यस्तै, गैर–आख्यानतर्फको पुरस्कारको घोषणा पत्रकार तथा लेखक केदार वाशिष्ठले गरेका थिए ।

कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला र काव्य पुरस्कारका प्रायोजक उत्तम भौकाजीले संयुक्त रुपमा विजेताहरुलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरेका थिए ।

विधागत रुपमा काव्य, आख्यान र गैरआख्यान विधाका उत्कृष्ट तीन डेब्यु कृतिका नवलेखकलाई साहित्यपोस्टले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । यसअघि प्रत्येक विधाका तीन–तीन उत्कृष्ट पुस्तकका रुपमा ‘नवरत्न २०८०’ जारी गरिएकोमा त्यसैमध्येबाट सर्वोत्कृष्ट कृतिमा रुपमा तीन कृतिलाई पृरस्कृत गरिएको हो ।

कार्यक्रममा पुरस्कारको अन्तिम सूचीमा अटाएका कृतिका लेखकहरुलाई प्रमाणपत्रका साथमा सम्मान गरिएको थियो ।

भाषासेवी प्रा.डा. सनतकुमार वस्तीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन साहित्यपोस्टको आख्यान सम्पादक तैं तैं धितालले गरेका थिइन् ।

कार्यक्रममा डा. देवी नेपालले ‘नितान्त नयाँ’ स्तम्भ सुरु गरिने उद्घोषसमेत गरे । यस स्तम्भका डेब्यु लेखकका पहिलो किताबको क्रमैसँग साप्ताहिक रुपमा समीक्षा प्रकाशित गरिने छ । नेपालका अनुसार आउँदो शुक्रबारबाटै यो अभियान सुरु गरिने छ ।

Comments are closed.