काठमाडौँ – साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् ।यो निर्णय संयुक्त अरब इमिरेट्स (युएई) ले अचानक ओपेकबाट बाहिरिने घोषणा गरेपछि गठबन्धनको निरन्तरता र स्थायित्व कायम राख्ने उद्देश्यले लिइएको बताइएको छ ।रिपोर्टका अनुसार सात प्रमुख तेल उत्पादक देशहरूले आगामी जुन महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा गरेका छन् ।ओपेक प्लसले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्यमा दबाब परेको अवस्थामा बजार स्थिरता कायम राख्न सामूहिक प्रतिबद्धताअन्तर्गत यो कदम चालिएको उल्लेख गरिएको छ ।अल्जेरिया, इराक, काजाखस्तान, कुवेत, ओमान, रुस र साउदी अरेबियाबीच भएको अनलाइन बैठकपछि जारी वक्तव्यमा संयुक्त अरब इमिरेट्सको उल्लेख गरिएको छैन ।
तेल बजारका विश्लेषकहरूले यसअघि नै उत्पादन बढ्ने अनुमान गरेका थिए। यो वृद्धि मार्च र अप्रिलमा घोषणा गरिएको दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धिसँग करिब बराबर मानिएको छ ।अमेरिका र इजरायलसँग इरानको युद्धका कारण विश्व इन्धन बजारमा अनिश्चितता बढिरहेका बेला संयुक्त अरब इमिरेट्सले मे १ देखि ओपेकबाट बाहिरिने घोषणा गरेको थियो ।यससँगै सन् २०१६ मा गठन भएको ओपेक प्लस गठबन्धनबाट पनि उक्त देश अलग भएको छ । ओपेक प्लसमा ओपेकका सदस्य राष्ट्रहरूसँगै अन्य १० देश सहभागी थिए ।संयुक्त अरब इमिरेट्स बाहिरिनुअघि ओपेक १२ सदस्य राष्ट्रहरूको समूह थियो, जसले प्रमुख तेल उत्पादक देशहरूको संगठनका रूपमा काम गर्दै सदस्य देशका लागि उत्पादन कोटा निर्धारण गर्दै आएको छ ।







Discussion about this post