काठमाडौँ,-‘सुरभि साहित्य प्रतिष्ठान’ ले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न सर्जकलाई पुरस्कृत गरेको छ।
सुरभि साहित्य प्रतिष्ठानको सत्रौं स्थापना दिवसको अवसर पारेर गरिएको कार्यक्रममा प्रमुख अतिथि अभि सुवेदीले पुरस्कृत व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गरेका थिए। जसमा नगद राशि ५१ हजार रूपैयाँको सुरभि-विजय चालिसे वाङ्मय पुरस्कार प्राडा दयाराम श्रेष्ठ सम्भवलाई, २५ हजार राशिको सुरभि-रमा बद्री निबन्ध पुरस्कार वरिष्ठ निबन्धकार एवं अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई, २५ हजार राशिकै गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार वरिष्ठ कथाकार किशोर पहाडीलाई र २५ हजार राशिकै सुरभि-बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई अर्पण गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा भएको यो कार्यक्रममा प्रमुख अतिथि प्राडा अभि सुवेदी रहेका थिए भने विशिष्ट अतिथिहरूमा कोषराज न्यौपाने, इतिहासविद् दिनेशराज पन्त, प्राडा गोपाल भण्डारी, पूर्व सचिव गोपी मैनाली रहेका थिए।
अतिथिहरूमा प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसे, महाकाव्यकार गोविन्द घिमिरे वेदमणि, समालोचक युवराज मैनाली, साहित्यकार विन्दु सुवेदी, साहित्यकार श्रीहरि फुयाल, समालोचक ठाकुरप्रसाद शर्मा, डा. शेखरकुमार श्रेष्ठ, शरद प्रधान, माधव घिमिरे, निर्मल अर्याल, विनोद चापागाईं र उद्धव रायमाझी रहेका थिए।
प्रतिष्ठानको स्थापनाको अवसरमा गरिने विशिष्ट व्यक्तित्वको अभिनन्दन यस पटक गीतकार कन्चन पुडासैनीलाई गरिएको थियो ।
पुरस्कार चयन समितिका सदस्य समालोचक युवराज मैनालीले पुरस्कार प्राप्त साधकहरूको विशिष्टताको सराहना गर्दै छनौट प्रक्रियाबारे बाेलेका थिए।
सुरभि प्रतिष्ठानका सदस्य वसन्त रिजालले स्वागत र अच्युत घिमिरेले सञ्चालन गरेको कार्यक्रममा मेनका पोखरेलले किशोर पहाडी र भागिरथी श्रेष्ठको छोटो परिचय दिएकी थिइन्।प्रमोद प्याकुरेलले साहित्यिक पत्रकार रोचक घिमिरे र प्राडा दयाराम श्रेष्ठ सम्भवको परिचय दिएका थिए।
पुरस्कार संस्थापकमध्ये साहित्यकार एवं पत्रकार विजय चालिसेले आख्यान विधाको लागि आफूलाई प्राप्त पुरस्कारमा थप गरी स्थापना गरिएको बताएका थिए। कार्यक्रममा पुरस्कृतद्वय किशोर पहाडी र भागीरथी श्रेष्ठले लामो कथा र लघुकथाकार दीपक लोहनीले लघुकथा वाचन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्राडा अभि सुवेदीले सुरभि साहित्य प्रतिष्ठानको कार्यको सराहना गर्दै पुरस्कारको विकृति बढिरहेको समयमा दिनेले मैले यो यति दिएँ भन्नु नहुने बताए।
दिनेशराज पन्त, गोपी मैनाली, गोविन्द घिमिरे वेदमणि, कोषराज न्यौपाने, विजय चालिसे र प्रा.डा.गोपाल भण्डारीले मन्तव्य व्यक्त गरेका थिए। जसमध्ये कोषराज न्यौपानेले छोटो बोलेर साहित्यिक कार्यक्रम डेढ घण्टामा सकिनुपर्नेमा जोड दिएका थिए।
विजय चालिसेले सुरभिले गद्य विधाको आख्यान वाचनलाई प्रश्रय दिइरहेको र यसै विधामा पुरस्कारहरू स्थापना गरेर प्रदान गरिरहेको बताए। गोविन्द घिमिरे वेदमणिले सम्मानहरू विकृतिरहित र दागरहित हुनुपर्ने बताउँदै सुरभिले विशुद्ध साहित्यकारहरूलाई पुरस्कृत गरेकोमा खुसी लागेको बताए।
Comments are closed.