विश्वकप छनोटको अभ्यासका लागि क्रिकेट टोली दक्षिण अफ्रिका जाने

काठमाडौं : आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने भएको छ।

अहिले खेलाडीहरुको भिसाको तयारी भइरहेकोले सबै काम सकिए यही महिनाको अन्तिममा नेपाली खेलाडी दक्षिण अफ्रिका उड्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपालले आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामै बसेर गर्नेछ। त्यहाँ रहँदा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्म अप खेल खेलाउने क्यानको तयारी छ।

दक्षिण अफ्रिकामा रहँदा बलियो घरेलु टोलीसँग अभ्यास खेलका लागि प्रस्ताव गर्ने क्यानले जनाएको छ। आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटमा १० टोली सहभागी हुने टुङ्गो लागे पनि आइसिसीले समूह विभाजन गरेको छैन।

आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुनेछन्।

नेपालले बन्द प्रशिक्षणको लागि केही दिनभित्रै टोलीको घोषणा गर्ने तयारी गरिरहेको छ।

Comments are closed.