सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी हटाइए

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सादा पोसाकमा परिचालन हुने घुमुवा हटाएको छ ।विराटनगरमा आज संचारकर्मीहरूसँगको एक कार्यक्रममा मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोसाकका प्रहरी हटाएको जानकारी गराएका हुन् ।
सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोसाकका प्रहरीलाई कार्कीले फिर्ता बोलाएर उनीहरूको दरबन्दी रहेको जिल्लामै सरुवा गरिएको छ ।
फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हाले लगत्तै सादा पोसाकमा खटिएका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवलदार सुदर्शन कालाखेती, प्रहरी जवानहरू चुँडामणि सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको सरुवा गरेका हुन् ।तर एसपी कार्कीले तत्काल सादा पोशाकको प्रहरी हटाइए पनि आवश्यकता परेको खण्डमा परिचालन गरिने जानकारी दिए ।

Comments are closed.