काठमाडौँ । स्रष्टा आन्दोलनका समर्पित संस्था ‘स्रष्टा चैत्र ३०’ले यस वर्षको स्रष्टा सम्मान स्रष्टा द्वय तीर्थ श्रेष्ठ र श्यामललाई अर्पण गरेको छ । लोकतान्त्रिक आन्दोलनमा कर्म र सिर्जनाका माध्यमबाट निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै एक समारोहका बीच सम्मान अर्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले तीर्थ श्रेष्ठ र श्यामललाई पुरस्कार अर्पण गर्दै यस्ता समारोहको औचित्य र आवश्यकता सधैँ नै रहने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘स्रष्टा सामाजिक प्राणी पनि भएकाले उसले सामाजिक दायित्वबाट पन्छिन मिल्दैन । त्यसैले कहिलेकाहीँ स्रष्टाले सशरीर सडक आन्दोलनमा पनि आउनुपर्नेहुन्छ । लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाले खेलेको भूमिकालाई राज्यले पनि उचित सम्मान गर्नुपर्छ ।’
समारोहका विशिष्ट अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टा आन्दोलनसँग जोडिएका यस्ता कार्यक्रमको साथमा आफू रहेको र सदैव सहयोग गर्न तत्पर भएको बताउनुभयो ।
Comments are closed.