काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको एघारौं महाधिवेशनको उद्घाटन सभामा सबैलाई सहभागी हुन आह्वान गरेका छन्।
मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने उद्घाटन कार्यक्रमलाई प्रतिगमनविरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रूपमा मनाइने बताए।
उनले यो सभामार्फत प्रमुख दलहरूको पक्षमा जनमत रहेको सन्देश दिन चाहेको स्पष्ट पारे। महाधिवेशनको उद्घाटन सत्र नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रूपमा आयोजना गर्न खोजिएको उनको भनाइ छ।
महासचिव पोखरेलले जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेका सबै उपस्थित हुने विश्वास व्यक्त गरे। उनले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको समेत बताए ।






