Trending Now

डब्लुएचओका प्रमुखसहितराष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख डा. टेड्रोस एदहानोम घेब्रेयेसससहित राष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा परेको छ।

यमनको राजधानी सानास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्न लागेको डब्ल्युएचओको टोली इजरायली हवाई आक्रमणमा परेको हो। घेब्रेयेससले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूहरु विमान चढ्न लागेको समयमा बमबारी भएको र त्यसमा चालक दलका सदस्य घाइते भएको बताए।

उक्त घटनामा अरु दुई जनाको मृत्यु भएको छ। हूथी–नियन्त्रित एक सञ्चारमाध्यमले आक्रमणमा तीन जनाको मृत्यु भएको र १० जना घाइते भएको जनाएको छ। इजरायली सेनाले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकू जहाजहरुले हूथी समूहको सैन्य क्षेत्र लक्षित गरी अन्तर्राष्ट्रिय विमानस्थल, रस कनातिब ऊर्जा केन्द्र तथा पश्चिमी तटका अल–हुदायदाह, सालिफ र रस कनातिब बन्दरगाहमा आक्रमण गरेको बताएको छ।

साना विमानस्थलमा आक्रमणका प्रत्यक्षदर्शीहरुले रनवेमा तीन पटक आक्रमण भएको र त्यसपछि विमानस्थलको नियन्त्रण टावर लक्षित बम प्रहार भएको बताएका छन्।

यो आक्रमणपछि इरानले इजरायलले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा उल्लंघन गरेको आरोप लगाएको छ। उता हुथी समूहले इजरायलको राजधानी तेल अभिवलाई लक्षित गरी मिसाइल प्रहार गरेको छ। अलजजिराका अनुसार तेल अभिवको आकाशमा आगोका लप्का देखिएको, बम विस्फोटका आवाज सुनिएको र त्यसलगत्तै सहरमा आक्रमणको संकेत गर्ने साइरनहरु बजेको जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.