अत्यधिक गर्मीले रौतहटका विद्यालय बन्द

रौतहट : अत्यधिक गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको हो।

 

इकाइ प्रमुख रामविनय कुमार सिंहले बिहीबार सूचना निकालेर जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेका छन्।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

रौतहट सहित मध्ये तराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ।  सहनै नसक्ने गर्मीका कारण रौतहटसहित मध्ये तराईका जनजीवन प्रभावित बनेको छ। ​​

यस्तै सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

राससका अनुसार अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको शुक्रबारदेखि यही जेठ २३ गतेसम्म बिदा दिएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै विद्यालय बन्द गरेको जानकारी दिइन्।

Comments are closed.