एन्फाको आकस्मिक बैठकले ६७ करोडको बजेट परिमार्जनसहित पारित गर्‍यो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आकस्मिक बैठकले सन् २०२३ का लागि ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँको बजेट परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय बसेको बैठकले विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा प्राप्त हुने फिफा फर्वाड २.० को प्रोजेक्ट फन्डिङको बजेट अपरेशन शीर्षकमा रकमान्तरण गर्नका लागि निर्धारित मापदन्ड पुरा गरी फिफासँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठकले फिफा फर्वाड ३.० को प्रोजेक्ट फन्डिङको सीएओ पारित गर्ने र स्ट्राटेजिक प्लान पुनरावलोकन गरी पारित गर्ने निर्णय पनि गरेको छ । बैठकले सन् २०२३ मा आयोजना हुने फिफा महिला विश्वकपको टिकट खरिद गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी बैठकले एन्फाअन्तर्गत स्थानीय सरकार तथा सरोकारबालाहरुसँगको सहकार्यमा न्यूनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष एकेडेमी र ६ वटा क्लबले सञ्चालन गरेको एकेडेमीलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

‘मिसन फिफा उमन्स वल्र्डकप २०२७/३१’ का लागि कार्यसमितिको उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा सरिला श्रेष्ठ मलेकु र पेमा डोल्मा लामा सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आपतकालिन समिति सदस्य विकासनारायण श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरी उपाध्यक्ष दीपक खतिवडालाई त्यसमा मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले लिग समितिको संयोजकको जिम्मेवारी उपाध्यक्ष विराटजंग शाहीलाई दिने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय खेलकुद परिषद्को व्यवस्थापनमा आगामी एसियाली खेलकुद प्रतियोगितामा महिला फुटबल टोलीलाई सहभागी गराउने निर्णय गरेको छ । बैठकले सन् २०२३ मै हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले सम्बन्धित क्लबहरूसँग छलफल गरी यू—१६ ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको पनि एन्फाले जनाएको छ ।

Comments are closed.