देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताउनुभएको छ । सोलुखोला दुधकोशी जलविद्युत परियोजनाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ वर्तमान सरकारले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने छ ।” निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उहाँले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताउनुभयो ।

दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गर्नुभयो । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उहाँको भनाइ छ । भारतीय बजारमा मात्रै नभई, बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेको प्रधानमन्त्रीले दाहो¥याउनुभयो ।

प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताउनुभयो ।

Comments are closed.