नेपालले वेष्ट इण्डिज ‘ए’ सँग टी-२० शृंखला खेल्ने

काठमाडौँ : अमेरिका र वेष्ट इण्डिजमा आगामी मेमा हुने आईसीसी टी-२० विश्वकपअगाडि नेपालले वेष्ट इण्डिज ए सँग टी-२० शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट एशोसिएशन (क्यान)ले आज बेलुकी जनाएअनुसार सो टी-२० शृंखलामा ५ खेल हुने छन्। सबै ५ वटै खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुने पनि क्यानले उल्लेख गरेको छ।

क्यानका अनुसार शृंखलाका लागि वेष्ट इण्डिज ए टोली नेपाल आउनेछ।

नेपाल-वेष्ट इण्डिज ए बीचको टी-२० शृंखला आगामी वैशाख १३ गते (अप्रिल २५) मा शुरु भएर वैशाख २३ गते (मे ५) सम्म चल्नेछ।

यसअघि नेपालले वेष्टण्डिजसँग टी-२० विश्वकपभन्दा पहिले अभ्यासका लागि शृंखला खेल्ने चर्चा भए पनि क्यानले आजमात्र पुष्टी गरेको हो। तर क्यानले खेल तालिका नै भने सार्वजनिक गरिसकेको छैन।

क्यानले हिजोमात्र वेष्ट इण्डिजका तीव्र गतिका पूर्व बलर रोडरिक अर्विल एस्टविकलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको सल्लाहकार बलिङ प्रशिक्षक नियुक्त गरेको थियो भने आज बेलुकी नै टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक गरेको थियो।

 

Comments are closed.