पिएनमा स्ववियु चुनाव प्रभावित, अदालतको स्टे अर्डर

पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको फागुन ५ गते हुने निर्वाचनका लागि पोखराका पृथ्वीनारायण क्याम्पसमा अझै मनोनयन दर्ता भएको छैन । निर्वाचन समितिले विद्यार्थीका विवरण अनधिकृत रूपमा लिक गरेको भन्दै ४ विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा ताला लगाएका छन् ।

तालाबन्दीले प्रभावित भएको मनोनयन दर्ता केही दिन अझै लम्बिने भएको छ । उच्च अदालत पोखराले चैत २ गतेसम्म निर्वाचनका कुनै पनि गतिविधि अघि नबढाउन अल्पकालीन आदेश दिएको छ । निर्वाचनका लागि दर्ता भएको विद्यार्थी संगठनको नाम बिगारेर प्रकाशन गरिदिएको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो । आइतबार न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले अन्तिम आदेश नआउँदासम्म निर्वाचन सम्बन्धी काम अघि नबढाउन आदेश दिइएको हो ।

दीपसन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले स्ववियु चुनावमा भाग लिन ‘स्वतन्त्र विद्यार्थी मञ्च’ बनाएर संगठन दर्ता गराएका थिए । तर निर्वाचन समितिले उक्त नाम फेरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखिदिएको हो । उक्त काम विरुद्ध विद्यार्थीहरू अदालत पुगेका हुन् । उक्त मुद्दामाथि चैत २ गते अर्को पेसी तोकिएको छ ।

Comments are closed.