प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा शुक्रबार भएको सुनुवाईपछि इजलाशले उक्त आदेश दिएको हो ।

माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बुबाका हत्या गरिएका पीडित ज्ञानेन्द्रराज आरणसहितले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

तीन वर्षअघि प्रचण्डले माओवादी युद्धका क्रममा ज्यान गुमाउने १७ हजार मध्ये ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने भन्दै दिएको सार्वजनिक अभिव्यक्तिलाई आधार बनाउँदै उनीविरुद्ध मुद्दा हालिएको थियो ।

याे मुद्दालाई अग्राधिकार दिने भन्दै आदेशमा भनिएकाे छ, ‘रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषय विषयको निरुपण छिटोरितो रुपमा गर्नुमनासिव देखिएकोले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको छ, आदेशमा छ ।

Comments are closed.