भण्डारी र दाहाललाई मदन स्मारक सम्मान प्रदान

गान्तोक: श्री विद्या धर्म प्रचारिणी नेपाली समिति, वाराणसीद्वारा वर्ष २०२२ को मदन-स्मारक सम्मान सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीलाई अनि वर्ष २०२३ को लागि अनुवादक तथा भाषा प्राविधिक सुनिता दाहाललाई प्रदान गरियो।

प्रोफेसर हरिप्रसाद आधकारीको अध्यक्षतामा सम्पन्न समारोहमा मदन पुरस्कार गुठीसँग संलग्न दीक्षित परिवारकी प्रतिनिधि रूपा दीक्षित जोशी मुख्य अतिथि रहेकी थिइन् भने समितिका पूर्व अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए।

नेपाली भाषालाई संवैधानिक मान्यता प्रदान गर्न पुऱ्याएको योगदान अनि नेपाली भाषा प्रवर्द्धन गर्न आजसम्म अनवरत लागिरहेकी पूर्व सांसद् दिलकुमारी भण्डारीलाई अनि नेपाली भाषामा प्रसिद्ध तमिल ग्रन्थ तिरुक्कल- लाई अनुवाद गर्ने साथै नेपाली भाषालाई कम्प्युटेसनल प्रविधिमा लैजाने क्रममा सुनिता दाहालको कार्य र कृतिलाई समितिले सम्मान गर्ने निर्णय गरेको थियो।

आफ्नो वार्ता प्रस्तुत गर्ने क्रममा दिलकुमारी भण्डारीले आफ्नो सांसद्कालको उपलब्धि, प्राप्ति र संस्मरण साझा गर्दै नेपाली भाषा संवर्द्धन, प्रवर्द्धन र संरक्षणमा युवा पीढीको ठूलो उत्तरदायित्व आइलागेको बताइन्। यस क्रममा उनले भारतीय प्रजातन्त्र, संसद र सांसद्हरूको सुन्दर पक्षहरूको संस्मरण साझा गरिन्।

सुनिता दाहालले आफ्नो वार्तामा अनुवादको महत्त्व, तिरुक्कुरल-को परिचय, महत्त्व र नेपालीमा यसको आवश्यकता अनि अनुवादका अनुभव साझा गरिन्। नेपाली भाषालाई प्रविधिका माध्यमबाट संरक्षण-संवर्द्धन गर्न सकिने प्रचुर सम्भावनाहरू रहेका र यसका लागि दक्ष मानव संसाधन तयार पार्नुपर्ने समय आएको बताइन्।

मुख्य अतिथिको सम्बोधन राख्ने क्रममा रूपा दीक्षित जोशीले विद्या धर्म प्रचारिणी नेपाली समितिलाई बचाई आजसम्म यतिको सक्षम बनाउन काशीबहादुर श्रेष्ठ र उनका परिवारको मुग्ध कण्ठले प्रशंसा गरिन्। उनले सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीलाई मदन स्मारक सम्मान प्रदान गर्नाले समिति र सम्मान नै प्रतिष्ठित भएको बताइन्। पुरानो पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्न समिति सक्षम बनेको उद्गार उनले व्यक्त गरिन्।

Comments are closed.