मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बढ्यो

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो ।

त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरू मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताए । एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको उनले बताए ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ

 

Comments are closed.