भारतीय व्यवसायी विमल पोद्दारसंगै ८ जना पक्राउ

काठमाडौँ । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी भारतीय व्यवसायी विमल पोद्दारसँग सुन कारोबारबारे कनेक्सन देखिएको आशङ्कामा ८ जना भारतीयलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भारत घर भएका अमिरुद्धिनसहित ८ जनालाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
४४ वर्षीय अमिरुद्धिनले स्वयम्भुस्थित भाडामा लिएको घरमा अरू ७ जना भेटिएका हुन् । अमिरुद्धिन र विमल पोद्दारको बिचमा सुन कारोबारेको ‘कनेक्सन’ देखिएको विभागको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । महानिर्देशक ढुंगाना भन्छन्–‘अमिरुद्धिन र पोद्दारको बिचमा त्यस्तो कारोबार भएको आशङ्कामा अनुसन्धान गर्दै छौँ ।’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा बरामद गरिएको सुनमा पनि व्यवसायी विमल पोद्दारको कनेक्सन भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीको पनि प्रतिवादी हुन् ।राजस्वको टोलीले अमिरुद्धिनसहित ८ जनालाई ९ दिनअघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा दिल्ली पश्चिम घर भएका २३ वर्षीय ध्रुव शर्मा, दिल्ली कृष्ण बिहार घर भएका २५ वर्षीय प्रिन्श शर्मा, दिल्ली पश्चिम घर भएका २२ वर्षीय रोहत कश्यप र दिल्ली रोहिना ब्लक घर भएका २३ वर्षीय दिपन्सु शर्मा सहित ८ जना छन् ।
विमल पोद्दार हुण्डी र क्रिप्टोकरेन्सी कारोबारी हुन् । विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए ।घलेले बयानका क्रममा पोद्दारको नाम लिएपछि उनी छानबिनको दायरामा आएका हुन् । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट छ । मीनबहादुरले बयानका क्रममा सन् २०१४ मा उनीसँग मिलेर काम गरेको बयान दिएका थिए । यूएईबाट ल्याइएको तस्करीको ३३ किलो सुन गायब भएपछि खोज्ने क्रममा चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले भरिया सनम शाक्यलाई यातना दिएको थियो । त्यसक्रममा शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण चर्चामा आएको थियो, यसमा प्रहरीका उच्च अधिकृतहरुमाथि पनि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको थियो । २०७४ मा ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिको अनुसन्धानका क्रममा व्यवसायी पोद्दार २०७५ असार ६ मा पक्राउ परेका थिए ।जिल्ला अदालत, मोरङले संगठित सुन तस्करीको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पछि उच्च अदालतबाट पोद्दार धरौटीमा छुटेका थिए ।१४ किलो सुन प्रकरणमा छानबिनको दायरामा आएपछि भन्सार कार्यालयले पोद्दारको खोजीका लागि प्रहरीको सहयोग मागेको थियो ।

Comments are closed.