‘भ्रष्टाचारमा मुछिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी जफत गर्न माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहदानी तुरुन्त जफत गर्न माग गरेका हुन्।

उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउन नहुने पनि बताए। उनले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताए।

उनले भने‚ ‘भूटानी शरणार्थीको विषय शुरुवात मात्रै हुन्। यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्ने छ। सरकारले खुट्टा नकमाओस्। प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्छ। प्रहरीले मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन। खबरदार ! अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ति हुन्छ भनेर यही रोष्ट्रमबाट पटक–पटक भनिएको सबैलाई याद होला। खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने रास्वपाले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ। देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्।’

उनले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठूला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिए।

Comments are closed.