साङ्गीतिक महोत्सव ‘इकोज इन द भ्याली’ सुरु

काठमाडौँ,  । साङ्गीतिक महोत्सव ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण सुरु भएको छ।

टेकुस्थित पचली भैरव मन्दिरबाट शुक्रबार सुरु भएको यस दुईदिने महोत्सव शनिबार असन क्षेत्रमा विशेष साङ्गीतिक कार्यक्रम, विविध स्टलसहित हुनेछ।  महोत्सवमा सङ्गीत कार्यशाला, सङ्गीत सम्मेलन, हेरिटेज वाक्, साङ्गीतिक चलचित्र प्रदर्शनी र नेवाः शैलीका भजन स्टल राखिने छ। साथै बालबालिकाका कथा वाचन, पुस्तक बस, रञ्जना लिपि लेखन, सङ्ग्रहालय भ्रमण गराइनेछ।

इकोज इन दी भ्यालीका सह–संस्थापक रिजु तुलाधरले सन् २०१७ देखि स्थानीय संस्कृति प्रवद्र्धनका लागि वार्षिक रूपमा विभिन्न स्थान विशेषलाई महत्व दिएर महोत्सव आयोजना गर्दै आएको बताउनुभयो।

उहाँले युनेस्कोका नेपाल प्रमुख माइकल क्रोप्टले उद्घाटन गर्नुभएको महोत्सवमा नेपालसहित अमेरिका, भारत, दक्षिण कोरिया, चिली र फिनल्यान्डका ७० जना कलाकारको प्रस्तुति रहने जानकारी दिनुभयो।

शनिबार असनको जनबहाल डबली, भोटाहिटी, न्ह्याकन्तला डबली, कमलाक्षी, सन्तानेश्वर मन्दिर प्राङ्गणलगायत विभिन्न बहाः बहीमा समेत कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

Comments are closed.