काठमाडौँ – नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको छ। मङ्सिर ०९ गतेदेखि सुरु भएको यो अभ्यास मङ्सिर २२ गते समापन भएको हो।यस पटकको अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरिएको थियो। यो अभ्यास निरीक्षण गर्नका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेसन टीमको नेतृत्व गर्दै उपरथी अनुपजङ्ग थापा सहभागी भएका थिए।
अभ्यास सूर्य किरण वि.सं. २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले आफ्नो विविध विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ।
नेपाली सेनाले यस्ता संयुक्त सैनिक अभ्यासहरूले मित्रराष्ट्रहरू बिचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।






