चितवन — भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक अत्याधुनिक ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयारीलाई तीव्रता दिएको छ। नेपाल सरकारसँगको सहकार्यमा चीन सरकारको सहयोगमा भवन निर्माण, उपकरण खरिद तथा चिकित्सक र नर्सलाई तालिम दिने गरी परियोजना अघि बढाइएको हो।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार केही दिनअघि चीनबाट आएको प्राविधिक टोलीले दुई सातासम्म अस्पतालमा बसेर सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारको अध्ययन तथा छलफल गरेको थियो। टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना र नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसँग समेत समन्वय गरेको थियो।
उनका अनुसार नेपाल सरकारसँग पुनः सम्झौता भएपछि परियोजनाको निर्माण कार्य अघि बढाइनेछ। अस्पतालको अन्तरङ्ग भवनअगाडि तीनतले नयाँ भवन निर्माण गरिनेछ, जसको काम सन् २०२६ भित्रै सुरु गर्ने तयारी रहेको जनाइएको छ।
चीन सरकारले करिब ३७ मिलियन चिनियाँ युआन बराबरको लागतमा परियोजना कार्यान्वयन गर्नेछ। अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार भवन निर्माण, अत्याधुनिक उपकरण खरिद तथा आवश्यक स्वास्थ्य जनशक्तिलाई तालिम दिने सम्पूर्ण व्यवस्था चीन सरकारले गर्नेछ। यसअघि नेपाल सरकार र चीनको ‘चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी’ (सीआईडीसीए) बीच यससम्बन्धी सम्झौता भइसकेको छ।
पाँच श्ययाको बोनम्यारो प्रत्यारोपण युनिट निर्माण गरिनेछ। सुरुमा पुरानो भवनबाट सेवा सञ्चालन गर्ने योजना रहे पनि आवश्यक मापदण्ड पूरा गर्न नयाँ भवन निर्माण गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ। भवन निर्माणस्थलको माटो परीक्षणलगायत प्रारम्भिक प्राविधिक काम पूरा भइसकेको छ।
सेवा सञ्चालनका लागि अस्पतालका चिकित्सक तथा नर्सहरूलाई चीनमा विशेष तालिम दिइँदै छ। अस्पतालका अनुसार तीन जना स्वास्थ्यकर्मी हाल चीनमा प्रशिक्षणरत छन् भने यसअघि तीन जनाले छ महिनाको र पाँच जनाले दुई साताको विशेष तालिम पूरा गरिसकेका छन्।
डा. पौडेलले यो नेपालकै पहिलो अत्याधुनिक बोनम्यारो प्रत्यारोपण युनिट हुने दाबी गर्दै सेवा सञ्चालनमा आएपछि बोनम्यारो प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने र बिरामीले स्वदेशमै कम खर्चमा गुणस्तरीय उपचार पाउने बताए।
बोनम्यारो प्रत्यारोपण रक्त क्यान्सर, बोनम्यारो क्यान्सर तथा एप्लास्टिक एनिमियाजस्ता गम्भीर रोगका बिरामीका लागि आवश्यक उपचार विधि हो। यस प्रक्रियामा शल्यक्रिया नगरी सुईमार्फत बोनम्यारो वा स्टेम सेल प्रत्यारोपण गरिन्छ।
वि.सं. २०५१ मा चीन सरकारको सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हाल नेपालका साथै भारतबाट पनि बिरामी उपचारका लागि आउने गरेका छन्।








Discussion about this post