काठमाडौं- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा रहेको नेपालको महावाणिज्यदूतावासबाट आगामी भदौ १५ गते (अगस्ट ३१, २०२६) सम्म मात्र राहदानी तथा कन्सुलर सेवा उपलब्ध हुने भएको छ।
महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार कार्यालय बन्द गर्ने प्रक्रिया सुरु भएकाले उक्त मितिसम्म मात्रै सेवा प्रवाह गरिने जनाएको हो।
सूचनाअनुसार भदौ १५ पछि महावाणिज्यदूतावासबाट राहदानी तथा अन्य कन्सुलर सेवा पूर्ण रूपमा बन्द हुनेछ। त्यसैले आवश्यक सेवा लिनुपर्ने सेवाग्राहीलाई तोकिएको समयभित्रै सेवा प्राप्त गर्न महावाणिज्यदूतावासले अनुरोध गरेको छ।
यसैबीच, जुलाई ६, २०२६ सम्म महावाणिज्यदूतावासमा प्रत्यक्ष उपस्थित भएर वा घुम्ती राहदानी सेवा मार्फत आवेदन दिएका सेवाग्राहीका नयाँ राहदानी तयार भई महावाणिज्यदूतावासमा आइपुगेको पनि सूचनामा उल्लेख गरिएको छ।
महावाणिज्यदूतावासले राहदानी बुझ्न बाँकी रहेका सबै आवेदकलाई यथाशीघ्र उपस्थित भई आफ्नो राहदानी बुझिलिन आग्रह गरेको छ।







Discussion about this post