काठमाडौं । फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ। फ्रान्सका विदेशमन्त्री जिन–नोएल ब्यारोटले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आगामी केही दिनमा दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गरिने जानकारी दिएका हुन्।
फ्रान्सको यो कदम गत जुलाईमा तेहरानमा दुई फ्रान्सेली दूतावासका कर्मचारीलाई इरानी सुरक्षा निकायले नियन्त्रणमा लिएर सोधपुछ गरेको घटनाको प्रतिशोधस्वरूप आएको हो। फ्रान्सले उक्त घटनालाई गम्भीर तथा पूर्वनियोजित भन्दै कूटनीतिक मर्यादाको उल्लङ्घन भएको जनाएको छ। फ्रान्सेली पक्षका अनुसार दुई कर्मचारीलाई करिब चार घण्टा नियन्त्रणमा राखिएको थियो भने उनीहरूमध्ये एक जनामाथि शारीरिक दुर्व्यवहारसमेत भएको थियो।
यसअघि इरानले पनि दुई फ्रान्सेली दूतावास कर्मचारीलाई आफ्नो देशमा पुनः प्रवेश गर्न नदिने निर्णय गरेको थियो। इरानी विदेश मन्त्रालयले उनीहरूले भियना महासन्धिको उल्लङ्घन गर्दै इरानी नागरिक समाजसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।
फ्रान्सले भने इरानको आरोप अस्वीकार गर्दै आफ्ना कर्मचारीमाथिको कारबाहीलाई अस्वीकार्य हस्तक्षेप र कूटनीतिक अधिकारमाथिको उल्लङ्घनका रूपमा लिएको छ। दुवै पक्षबीचको पछिल्लो कदमले फ्रान्स–इरान सम्बन्धमा थप तनाव बढाएको देखिएको छ।








Discussion about this post