खेम बतासको कथासङग्रह बुढीपोल्ली बजारमा

अत्तरिया – खेम ओझा (बतास) को नविनतम कथा सङग्रह बुढीपोल्ली बजारमा आएको छ । माया पब्लिकेशन प्रालि काठमाडौंले प्रकाशन गरेको सङग्रहमा १२ वटा कथा रहेका छन् । फरक फरक बिषयवस्तुमा रचना गरिएका बतासका कथामा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिलाई केन्द्रमा राखिएको छ ।

वर्षौदेखि राज्यको आँखामा नपरेको भूगोल, सदियौँदेखि मान्छे भएर बाँच्न नपाएका तर आत्मसम्मानको लडाइँमा होमिएका मान्छेहरुको दैनिकी उक्त कथा संग्रहमा समाबेश गरिएको लेखक ओझाले बताए । जातीय विभेद, लैङ्गिक असमानता र कुरीतिको बिरुद्धमा खरो लेख्ने बतासले बुढीपोल्लीमा कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्नेहरुको जीवन गाथालाई शब्दका माध्यमले उन्ने प्रयास गरेका छन् । डोटेली मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरिएको लेखक ओझाले बताए ।

उक्त कथासंग्रहमा मान्छे हराएको सुचना, हाफ चश्मा, हटस्पट, नोकिया एक्स वन, रम्मी, सराबी कान्छो, आदतको दास, बदनाम गल्लीको कथा, कथालय नकटो, बुढिपोल्ली, छोइडुम र ओल्के लगाएका कथाहरु रहेका छन । २०५ पेज रहेको उक्त कथासंग्रह हाल १ हजार १ सय प्रति छापिएको छ । धनगढीको समर्पण पुस्तक पसलमा उक्त कथा संग्रह राखिएको छ ।

कैलालीको गोदावरी नगरपालिका – ७ लालपुर निवासी ओझाले पहिलो पटक एकल कथा संग्रहका रुपमा बुढिपोल्ली बजारमा ल्याएका हुन । यसअघि उनले संयुक्त रुपमा बजारमा आएको कथासंग्रह छकालैमा पनि कथाहरु लेखेका थिए । उक्त कथासंग्रहमा देशभरीका २० जना कथाकारहरुका कथाहरु समावेश गरिएका थिए ।

उक्त कथासंग्रहको राम्रो प्रतिक्रिया पाईएपछि आफैले एकल रुपमा कथासंग्रह बजारमा ल्याएको ओझाले बताए । त्यसबाहेक ओझाले यसअघि गजल संग्रह बतास बजारमा ल्याईसकेका छन ।

Comments are closed.