काठमाडौं । बारामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाने तयारीमा थिए ।
सोही जानकारीपछि जेनजी युवाले बाराको सिमरा विमानस्थलमा धर्ना दिएका थिए । सोही विषयमा जेनजी र एमाले समर्थक युवाबीच झडप भएको हो । झडपपछि सिमरा बजार तनावग्रस्त बनेको छ ।
स्थानीयले विमानस्थलको गेट तोडफोड गर्न थालेका छन् । पोखरेल र बस्नेत भने काठमाडौं विमानस्थलमा छन् ।
प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयले राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।







