रियालिटी शो ‘द पोइट आइडल’को घोषणा

टेलिभिजन रियालिटी शो द पोइट आइडल कार्यक्रमको घोषणा गरिएको छ ।
प्रसिद्ध नेपाली कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा रयालिटी शो ‘द पोइट आइडल’ कार्यक्रम हुने भएको छ ।
नेपाली भाषाका कविहरुको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ घोषणा भएको हो । यो कार्यक्रमलाई क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले निर्देशन गर्नेछन् ।
उक्त कार्यक्रममा भाग लिन इच्छुक कविहरुले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।

हरेक हप्ता एक जना प्रतिष्पर्धी बाहिरिने र अन्तिममा एकजना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ । प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त छन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।
कार्यक्रममा भाग लिन इच्छुकहरुले भदौ २६ गतेदेखि विभिन्न सामाजिक सञ्जालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन पाउनेछन्। कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउनेछन् भने यसको प्रसारण एपी वान टेलिभिजनबाट हुनेछ ।

Comments are closed.