काठमाडौं- अन्टार्कटिकामाथि बनेको ओजोन छिद्र सन् २०२५ डिसेम्बर १ मा बन्द भयो । त्यो सन् २०१९ पछि सबैभन्दा चाँडो बन्द हुने घटना रेकर्ड भएको छ ।
यो वर्ष छिद्रको आकार मात्र सानो भएको छैन, यसको गहिराइ पनि कम रहेको रेकर्ड गरिएको छ । यसले ओजोन तह बिस्तारै बलियो हुँदै गएको भन्ने वैज्ञानिकको भनाइलाई थप ठोस आधार दिएको छ ।
यो वर्षको आकार र व्यवहार
अन्टार्कटिकामाथि हरेक वर्ष अगस्टदेखि डिसेम्बरसम्म ओजोन छिद्र विकास हुन्छ । यस वर्ष यो प्रक्रिया अगस्टको मध्यतिर सुरु भयो । त्यो सामान्य ढाँचासँग मेल खान्छ । सेप्टेम्बरको सुरुसम्म ओजोन छिद्र विस्तार हुँदै २.१ करोड वर्गकिलोमिटरसम्म पुगेको थियो ।
यो क्षेत्रफल ठूलो हो । तर, सन् २०२३ मा देखिएको २.६१ करोड वर्गकिलोमिटरको अभूतपूर्व छिद्रको तुलनामा उल्लेखनीय रूपमा सानो हो ।
सेप्टेम्बरभर छिद्र डेढदेखि दुई करोड वर्गकिलोमिटरको दायरामा कायम रह्यो । त्यो लगभग अन्टार्कटिकाको क्षेत्रफलजत्तिकै हो ।
अक्टोबरको अन्त्यसम्म अवस्था प्रायः उस्तै रह्यो । तर, नोभेम्बरमा छिद्र तीव्र गतिमा संकुचन हुन थाल्यो । र, अन्ततः डिसेम्बर १ मा बन्द भयो ।
न्यूनतमस्तरमा सुधार
यसपटक ओजोन स्तम्भको न्यूनतमस्तर पनि पछिल्ला केही वर्षको तुलनामा राम्रो रहेको देखिएको छ । ओजोन मास डेफिसिट पनि औसतभन्दा कम रेकर्ड गरिएको छ । यी दुवै संकेतले यो वर्ष छिद्रको गहिराइ थोरै र प्रभाव पनि तुलनात्मक रूपमा कम हानिकारक रहेको पुष्टि गर्छ ।
यो अवधिमा स्ट्र्याटोस्फियरमा हावा पनि तुलनात्मक रूपमा कमजोर रहेको छ । त्यसकारण बाहिरी क्षेत्रबाट ओजोन तहको हावा अन्टार्कटिकाको माथिल्लो वायुमण्डलमा सहज रूपमा प्रवेश गर्न सकेको थियो ।
कपरनिकसको रिपोर्ट र विश्व मौसम विज्ञान संगठनको ओजोन बुलेटिन २०२४ दुवैले गत वर्ष ओजोन तहलाई तुलनात्मक रूपमा कम क्षति पुगेको स्पष्ट संकेत दिएको छ ।
ओजोन छिद्र डिसेम्बरमा किन बन्द हुन्छ ?
अन्टार्कटिकामाथि ओजोन छिद्र सामान्यतया डिसेम्बरमा बन्द हुन्छ, किनकि त्यहाँको ध्रुवीय चक्रवात अत्यधिक चिसो र तीव्र गतिमा घुम्ने हावाको प्रणाली नोभेम्बरसम्म धेरै बलियो रहन्छ । यो चक्रवातले चिसो तापक्रम कायम राख्दै ओजोन नष्ट गर्ने रासायनिक प्रक्रिया सक्रिय बनाइराख्छ ।
तर, नोभेम्बरको अन्त्यतिर सूर्यको प्रकाश र तापक्रम बढ्न थाल्दा चक्रवात कमजोर हुँदै टुट्न थाल्छ । चक्रवात टुटेपछि तातो हावाको प्रवेश बढ्छ र ओजोनको पुनर्निर्माण तीव्र रूपमा सुरु हुन्छ । यही कारणले ओजोन छिद्र प्रायः डिसेम्बरको सुरुतिर बन्द हुने गर्छ ।





