वरिष्ठ साहित्यकार राजेन्द्र विमललाई प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार

काठमाडौँ । रामगीता वाङ्मय मन्दिर, नेपाल-अमेरिकाले प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ ।
अध्यक्ष गीता खत्रीद्वारा जारी विज्ञप्तिका अनुसार यस प्रतिष्ठानबाट प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’, २०८० शिखा बुक्सबाट प्रकाशित कथाकार राजेन्द्र विमलको कथा-सङ्ग्रह ‘सरबरिया टोल’ लाई प्रदान गरिने छ ।
यसअघि घोषित उत्कृष्ट ९ कृतिहरूमध्ये निणर्ायक मण्डलले कथाकार विमलको उक्त कृतिलाई ‘विभिन्न प्रकारका विभाजनकारी द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने, र अन्यायमा पारिएका जनतासम्म न्यायको उज्यालो पुर्‍याउने’ प्रशंसनीय प्रचेष्टा गरेकोले उत्कृष्ट ठहर गरी पुरस्कृत गर्ने निणर्य गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उत्कृष्ट ९ मा परेका अन्य कृतिहरूमा विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ रहेका थिए । पुरस्कारमा ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।
पुरस्कार आगामी वैशाख ८ गते एक विशेष समारोहबीच काठमाडौँमा अर्पण गरिने विश्वस्त सूत्रले जानकारी दिएको छ । यो पुरस्कार स्थापनापछि पहिलो पटक समर्पण गर्न लागिएको हो ।

Comments are closed.