ढुंगानाको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक 

कोरोना महामारीको समयमा मुलुकले भोगेको त्रासदीमा खिचिएका तस्बिरहरूको संकलन ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक भएको छ। पुस्तकमा नयाँ पत्रिकार्मी दीपेन्द्र ढुंगानाले खिचेका त्रासदीका विभिन्न अवस्थाका तस्बिरहरू समेटिएका छन्।

किताबमा कोरोनाबाट संक्रमित भएकादेखि ज्यान गुमाएकासम्मको, संक्रमणबाट जोगिन हिँडेकादेखि जोगाउन हिँडेकासम्मको र अस्पतालदेखि चिहानसम्मका मान्छेका कथाहरू छन्।

विभिन्न नौवटा विधामा छुट्याइएका तस्बिरहरूलाई सरकारले संक्रमण नियन्त्रणका लागि लगाएको कथा लकडाउन, सहरमा बस्न नसकेर घर जानेहरूको कथा मार्च टू होम, रोजगारी गुमाएका श्रमिकहरूको कथा प्लाइट अफ वर्कर्स, संक्रमितहरूको उपचारमा खटेका स्वास्थ्यकर्मी र अस्पतालहरूको कथा हस्पिटल एन्ड हेल्थ वर्कर, संक्रमण ज्यान गुमाएका र तिनको व्यवस्थापनमा अनवरत खट्नेहरूको कथा डेड बडी म्यानेजमेन्ट, कोरोना कालमा मान्छेले गरेका सांस्कृतिक गतिविधिको कथा, आन्दोलन, फिल्डमा गएर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, कर्मचारीलगायतका कथा र भ्याक्सिनका लागि झेल्नुपरेको सास्तीलाई फोटोमा उतारिएको छ।

पत्रकार ढुंगानाले कोरोनाको समयमा फिल्डमा खटिएर कैद गरेका तस्बिरहरु पुस्तकमा समेटिएका छन्। उनले काठामाडौं उपत्यकाभरिका अधिकांश क्षेत्रमा जीवनका लागि संघर्ष गरिरहेकाहरूकाे कथालाई क्यामेराको लेन्सले कैद गरेका छन्।

पत्रकार ढुंगानाले कोरोनाको समयमा आममान्छेका भोगाइलाई इतिहासमा दस्ताबेजीकरण गर्नका लागि तस्बिरलाई पुस्तकको रूप दिएको बताए। ‘कोरोनाको समय असाध्यै त्रासदीपूर्ण थियो । कयौऊ मान्छे घरभित्रै बसेर यसबाट जोगिन कोसिस गरिरहेका थिए भने कतिपयलाई त्यो सुविधा थिएन। एक प्रकारले भन्दा मान्छेले आफ्नो आँखैअगाडि मृत्यु देख्नुपरेको अवस्था थियो,’ ढुंगाना भन्छन्, ‘त्यो समय कस्तो थियो भनेर भविष्यमा हेर्न सकिने भनेको तस्बिरमा नै हो। त्यसैले मैले यसलाई समयको दस्ताबेजीकरणका लागि पनि पुस्तकको रूप दिनुपर्छ भन्ने लागेको हो।’

पुस्तकमा प्रकाशित तथा अप्रकाशित १२० वटा तस्बिर छन्। ढुंगानाले टेलिभिजन, म्यागेजिन, अनलाइन र पत्रिकालगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत काम गरिरहेका छन्। पुस्तक इन्डिगो इंक प्रकाशनले बजारमा ल्याएको हो।

Comments are closed.