काठमाण्डौंको शिल्पी थिएटरमा आयोजित एक कार्यक्रममा खेमराज ओझा (खेम बतास)द्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ विमोचन गरिएको छ । यो कृतिले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए।
विमोचनपछि पत्रकार फणीन्द्र संगमले बहसको सहजीकरण गरेका थिए। लेखक/समालोचक बिन्दु शर्माले आञ्चलिकता र स्थानीय भाषा प्रयोगमा लेखक सबल रहेको बताइन्। ‘सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेका छन्,’ उनले भनिन्। नेपाली साहित्यमा मानक भाषा र कुनै भाषिका वा मातृभाषाप्रति द्न्द्व नरहेको उनको भनाइ थियो। छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’को प्रसंगमा उनले मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन्। ‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन्।
कवि/कथाकार बिना थिङले लेखक महिलाको विषय र चरित्र निर्माणमा सकारात्मक देखिएको बताइन्। कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो। ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन्। ‘लेखकले आफ्नो भूगोलको कथा लेख्ने हो। बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्,’ उनले थपिन्, ‘यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो।’
कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे। कवि सोझो गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे। ‘सामाजिक कुरीति र विभेदविरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ।’
कवितामा व्यक्त गर्न नसकिएका विषयलाई कथामा उठाउनकै लागि ‘बुढीपोल्ली’ जन्मिएको लेखक खेमको भनाइ थियो। १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.