क्रान्ति पराजुलीको ‘प्रिय स्वप्नद्रष्टा’ उपन्यास सार्वजनिक

जेठ १६,काठमाडौँ,काव्य घर । साहित्यकार क्रान्ति पराजुलीको दोस्रो  उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृति सार्वजनिक गरिएको हो ।

मंगलबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि अन्तरक्रिया समेत गरियो । लेखक तथा समीक्षक राजकुमार बानियाँ, उपन्यासकार क्रान्ति पराजुली र प्रमुख अतिथि खनालले कृतिबारे आफ्ना धारणा राखे । कवि महेश कार्कीले अन्तरक्रिया सञ्चालन गरेका थिए ।

अन्तरक्रियामा प्रमुख अतिथि खनालले नेपाली साहित्यमा नौलो विषय, परिवेशमा नेपाली महिलाले लेखेको उपन्यास प्रिय स्वप्नद्रष्टा रहेको बताए । यो उपन्यास पढ्दा सबै खालका पाठक र विशेषगरी महिलावर्गले सकारात्मक ऊर्जा र उत्प्रेरणा प्राप्त गर्ने बताए ।

समीक्षक बानियाँले राजनैतिक विषयमा लेखिएको उपन्यासमा प्रेमको आदर्श स्वरुप चित्रण गरिएको बताए । कृतिको भाषाशैलीले आफूलाई प्रभाव पारेको र पाठकले पढ्दा आनन्द आउने उनको भनाइ थियो ।

उपन्यासकारले आफूले युवालाई स्वदेशमा नै बस्ने प्रेरणा मिल्नेगरी उपन्यास लेखेको र आफू सदैव आशावादी रहेको कुरा बताइन् ।

स्वप्निल परिवेशमा रचना गरिएको उपन्यासले देशको वर्तमान बेथिति, विसंगति चित्रण गरेको छ । देशको मुहार फेर्न युगपुरुष‘स्वप्नद्रष्टा’को परिकल्पना गरिएको उपन्यासमा साहस र आदर्श प्रेमको कथा छ ।सो कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमा कार्यक्तमको सञ्चालन महेश ‘क्षितिज’ ले गर्नु भएको थियो । उक्त उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो ।

Comments are closed.