डा. राजु अधिकारीका तीन पुस्तक विमोचन

काठमाडौंको पेप्सीकोलास्थित एक विद्यालयमा आयोजित कार्यक्रममा डा. राजु अधिकारीका तीन पुस्तक एकैसाथ विमोचन गरिएको छ। अधिकारीद्वारा लिखित ‘परिवार सुख’, ‘संस्कारी बन्ने काइदा’ र ‘हजुरलाई विशेष उपहार’ पुस्तक संस्कृतिविद् गोविन्द टन्डन, साहित्यकार तुलसी भट्टराई र प्रमुख निर्वाचन आयुक्त एवम् साहित्यकार दिनेश थपलियाले संयुक रुपमा लोकार्पण गरेका थिए । साथै तीनै जना वक्ताले उल्लिखित तीन फरकफरक पुस्तकको महत्व र आवस्यकता माथि आआफ्ना धारणा राखेका थिए  ।

कार्यक्रममा डा. गोविन्द डन्टनले अधिकारीको पुस्तक ‘संस्कारी बन्ने काइदा’माथि आफ्ना विचार राखेका थिए । यो पुस्तक अहिलेको समयमा अति नै सान्दर्भिक रहेको उनको भनाइ थियो । ‘किनभने हामीले आफ्नो संस्कृति अनि धर्म-परम्परा बिर्संदै गएका छौं,’ उनले भने, ‘यसमा राज्यले पनि ध्यान दिएको छैन । अहिलेको शिक्षाले सूचना त दिएको छ । यसले मानिसलाई सफल पनि बनाउला । तर असल बनाउँदैन । अधिकारीजीको ‘संस्कारी बन्ने काइदा’ले सफल मात्र होइन, मानिसलाई असल पनि बनाउँछ ।’

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अधिकारीको पुस्तक ‘हजुरलाई विशेष उपहार’बारे समीक्षा गरे । पुस्तक पढ्दै गर्दा उपहार होस् त यस्तो भन्ने अनुभूति हुने उनले बताए । कुनै पनि उपहारको मूल्य त्यसको उपयोगितामा निहित हुने र बाहिरी आवरणमा मात्र ध्यान दिन नहुनेमा पुस्तकले जोड दिएको थपलियाको भनाइ छ ।

साहित्यकार डा. तुलसी भट्टराईले अधिकारीको पुस्तक ‘परिवार सुख’को समीक्षा गरे । पछिल्लो समय परिवारमा आइरहेको बेमेलले समाजलाई भड्खालोतिर लगिरहेको अवस्थामा अधिकारीको यस पुस्तकले आदर्श परिवार निर्माणमा सघाउ पुग्ने उनको भनाइ थियो ।

खाने कसरी पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, यस्तो होस् जीवनशैली, आखिर रोज्ने के ?, तपाईंका लागि योग, जिन्दगी रिल्याक्स प्लिज !, संस्कारी बन्ने काइदा, परिवार सुख, हजुरलाई विशेष उपहार, विवाहअगाडि विवाहपछाडि, बालबालिका र योगाभ्यास, सुयोग्य सन्तति, नैतिक सुखवाद र जीवन मूल्यहरू पुस्तक प्रकाशन गरिसकेका अधिकारी वाग्मती सफाइ महाअभियानका अवधारणाकारसमेत हुन् ।

राष्ट्रिय युवा प्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत)बाट सम्मानित अधिकारीले भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामबाट योेग विज्ञान विषयमा स्वर्णपदकसमेत पाएका छन् ।

Comments are closed.