राजु स्याङतानको ओ पेङदोर्जे कवितासंग्रह लोकार्पण

पब्लिकेसन नेपालयको आरशालामा एक कार्यक्रमको आयोजना गरि कवि राजु स्याङतानको पहिलो कवितासंग्रह ‘ओ पेङदोर्जे’ सार्वजनिक गरिएको छ। आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रवीणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्तक सार्वजनिक गरेका थिए। द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रवीणाले हात गुमाएकी थिइन् ।
समारोहमा पुस्तक विमोचन गर्नुअघि वक्ताहरूले कुनै समय हतियार बोकेर समाज रूपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे।
‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ पुस्तकमा अटाएको कविताबारे टिप्पणी गर्दै समीक्षक हरि शर्माले भने, ‘परिणाममा बजार, समाज र पुँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्बित भएको छ ।’
एक ठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रूपमा पाउँदा आश्चर्यसमेत प्रकट गरे । यसरी बिम्ब र प्रतिबिम्ब प्रयोग गर्दै कल्पनाहरूलाई सशक्त ढंगले उभ्याउने राजुलाई आफूले समग्रमा भने यथार्थवादी कविका रूपमा पाएको शर्माले बताए ।
कार्यक्रममा नयाँ पुस्ताका कवि राजुका बारेमा अघिल्ला पुस्ताका कवि श्रवण मुकारुङले चिनारी प्रस्तुत गरेका थिए । ‘मैले नछुटाईकन पढ्ने अहिलेका कविहरूमाझ राजुको कविता पढ्ने गरेको छु,’ मुकारुङले भने, ‘राजु उनको परिवेशलाई आमपाठकको मर्ममा छोएर प्रस्तुत गर्न प्रखर देखिएका छन्।’
त्यस अवसरमा राजुले पुस्तकमा अटाएका दुईवटा कविता वाचन गरेर सुनाएका थिए ।
शनिबारकै समारोहमा भौतिक पुस्तक मात्र नभई यसका ‘इबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक भएको घोषणा गरिएको थियो। पछिल्लो समय प्रचलनमा आएको पुस्तकका यी नवीन स्वरूपहरू भने इन्टरनेटमा थुप्रै डटकमको एप्समार्फत कसरी सजिलै खरिद गर्न सकिन्छ भनेर जानकारी पनि गराइएको थियो ।

यस पुस्तकको ‘अडियो बुक’ खरिद गर्नेले राजुको स्वरमा वाचन गरिएको कविताको साथमा संगीतकार आभासले तयार पारेर मिसाएको धुनको आनन्द पनि लिन सक्नेछन् । यस कवितासंग्रहमा छवटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन् ।
कार्यक्रममा पब्लिकेसन नेपालयका तर्फबाट बोल्दै किरणकृष्ण श्रेष्ठले लेखक तथा प्रकाशकहरूले जति छिटो पुस्तकहरू धेरै माध्यममा उपलब्ध गराउँछन्, त्यति नै पाठकको दायरा फराकिलो हुने बताए ।
‘यतिबेला साहित्यिक पुस्तकमध्ये सबैभन्दा थोरै कविता बिक्री भइरहेको यथार्थकै बीच हामीले यसै विधाको पुस्तक प्रस्तुत गर्ने जमर्को गरेका छौँ,’ किरणले भने, ‘कुनै समय पुस्तकको बिक्री बढेर फेरि कमी आउन थालेकामा हामी प्रकाशकहरूले कस्ता पुस्तक पाठकलाई दियौँ भनेर पनि यतिबेलै आत्मसमीक्षा गर्न जरुरी छ।’
कार्यक्रममा पब्लिकेसन नेपालयकी तत्कालीन सम्पादक भूषिता वशिष्ठले यो पुस्तक प्रकाशन गर्दाको अनुभवबारे बोलेको भिडियो रेकर्डसमेत देखाइएको थियो। एक सय ५१ पृष्ठको यो कवितासंग्रह
शनिबारबाटै सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने जानकारी पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले दिइन् । मास्केका अनुसार यस किताबलाई संसारभरका पाठकले अमेजनमार्फत पनि खरिद गर्न सक्नेछन् ।

 

Comments are closed.