आईपीएलमा चेन्नईको सातौँ जित, दिल्लीको सातौँ हार

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले अर्को खराब नतिजा निकालेको छ । जारी आईपीएलको बुधबार राति खेलिएको खेलमा चेन्नई सुपर किङ्सले सातौँ जित हात पा¥यो भने दिल्लीले सातौँ हारको सामना गर्नु पर्यो ।

आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा चेन्नईले दिल्लीमाथि २७ रनको सजिलो जित हासिल गर्यो । टस जिती पहिलो ब्याटिङ रोजेको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले भने निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४० रनमात्र बनाउन सक्यो । पहिलो ब्याटिङ गरेको चेन्नाईका लागि शिवम दुवेले २५ रन बनाए । मध्य क्रमका ब्याट्सम्यान दुवेले १२ बलमा ३ छक्का पनि हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान रुतुराज गायकवाडले १८ बलमा ४ चौकाको मद्दतले २४ रन जोडे । अम्बाती रायुदुले १७ बलमा १ छक्का र १ चौकाको मद्दतले २३ रन थपे । अजिनक्या रहाने र रविन्द्र जडेजाले २१÷२१ रन बनाए । म्यान अफ दि म्याच घोषित भएका जडेजाले १६ बलको सामना गरी १ छक्का र १ चौका पनि हिर्काए ।

कप्तान महेन्द्रसिंह धोनी २० रनमा पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान धोनीले ९ बलको सामना गरी २ छक्का र १ चौका पनि प्रहार गरे । दिल्लीका बलर मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दिल्लीका लागि रिली रोसोउले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा १ छक्का र २ चौका हिर्काएका थिए । दिल्लीका माथिल्ला ३ ब्याट्सम्यान एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए ।

मनिष पाण्डेले टोलीको खातामा २७ रन थपे । अक्षर पटेलले १२ बलमा १ छक्का २ चौकाको मद्दतले २१ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । चेन्नाईका बलर मथिशा पथिरानाले ३ र दीपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले पनि १ विकेट हात पारे ।

आईपीएल तालिकामा १२ खेल खेलेको चेन्नई १५ अंकसहित दोस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्ली भने ८ अंकसहित तालिकाको १०औं स्थानमा छ ।

Comments are closed.