छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २ माघ

सिरहा, धनगढीमाई नगरपालिका-५ गोठ टोलस्थित सडकमा प्र.२-०१-००३ प. ५२९७ नम्बरको मोटरसाइकल र डब्लुबि ६५ डि ७४३९ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुखिपुर नगरपालिका-८ बस्ने ५५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ भुमहीस्थित सडकमा लु.२ ख १२२६ नम्बरको बस र बागमती प्रदेश ०१-०२५ च ३८९७ नम्बरको कार एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कारका चालक अर्घाखाँची घर भई कपिलवस्तु वाणगंगा नगरपालिका-८ मधुवन बस्ने ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.