अमेरिकी रक ब्यान्ड ‘लिनर्ड स्कीनर्ड’का अन्तिम संस्थापकको निधन

फ्लोरिडा । चर्चित अमेरिकी रक ब्यान्ड लिनर्ड स्कीनर्डका अन्तिम संस्थापकको निधन भएको छ । गिटारिस्ट ग्यारी रोसिङटनको ७१ वर्षको उमेरमा निधन भएको हो ।

उनी ब्यान्डको सबै एल्बमका हिस्सा थिए भने उनले सन् १९७४ को लोकप्रिय गीत ‘स्वीट होम आलाबामा’ को सह–लेखन गरेका थिए । सन् १९७७ मा भएको विमान दुर्घटनामा ब्यान्डका धेरै सदस्यले ज्यान गुमाउँदा उनी भने बाँचेका थिए ।

पछिल्लो समय मुटुको समस्या देखिएका रोसिङटनले गत फेब्रुअरी महिनासम्म स्टेजमा कार्यक्रम गरेका थिए । ब्यान्डको फेसबुक पेजमा उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

यद्यपि, उनको मृत्युको कारण भने खुलाइएको छैन । रोसिङटनले सन् २०२१ मा मुटुको शल्यक्रिया गरेका थिए ।

रोसिङटनको जन्म सन् १९५१ मा फ्लोरिडामा भएको थियो ।

सन् १९६४ मा उनले ड्रमरी बब बर्न्स र बेसिस्ट ल्यारी जुनस्ट्रमसँग मिलेर मी, यू एन्ड हिम नामक ब्यान्ड सुरु गरेका थिए । ब्यान्डमा गायकको रुपमा रोनी भान जान्ट भित्रिएपछि उनीहरुले ब्यान्डको नाम परिवर्तन गरेर ‘लिनर्ड स्कीनर्ड’ राखेका थिए ।

ब्यान्ड ब्लुज रक गीतका लागि चर्चित रहेको छ । ब्यान्डका सिम्पल म्यान, मिसिसिपी किड, फ्रि बर्डजस्ता गीतहरु अझै पनि लोकप्रिय रहेका छन् ।

Comments are closed.