आईपीएल: गुजरातविरुद्ध पञ्जाबको रोमाञ्जक जित

काडमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाब किङ्सले रोमाञ्चक जित हात पारेको छ । गए राति भएको खेलमा पञ्जाबले गुजरातलाई ३ विकेटले हरायो ।गुजरातले दिएको २ सय रनको लक्ष्य पूरा गर्दै पञ्जाब आईपीएल इतिहासमा सबै भन्दा बढी ६ पटक २ सय वा सोभन्दा बढी रनको लक्ष्य पूरा गर्ने टोली बन्यो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । ओपनर ऋद्धिमान साह केवल ११ रन बनाउँदै बाहिरिए । केन विलियमसनले ३६ र साई सुदर्शनले ३३ रन बनाए । कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित ८९ रनको अविजित इनिङ खेले । उनलाई राहुल टेवाटियाले २३ रन बनाएर साथ दिए । पञ्जाबका लागि कागिसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १-१ विकेट लिए ।
जवाफमा २ सय रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदै ७ विकेट गुमाएर पुरा गर्यो । ओपनर शिखर धवनलाई उमेश यादवले १ रनमै बोल्ड गरे । जोनी बेयरस्टो २२, प्रभसिमरन सिंह ३५ र सिकन्दर रजा १५ तथा जितेश शर्मा १६ रनमा आउट भए । शशाङ्क सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेल्दै पञ्जाबलाई रोमाञ्चक जित दिलाए । गुजरातका नूर अहमदले २ विकेट लिए ।
जितसँगै पञ्जाबले ४ खेलमा २ जितसहित ४ अंक जोडेको छ । ऊ तालिकाको पाँचौं स्थानमा छ । गुजरात पनि समान ४ खेलमा ४ अंकसहित छौंठौं स्थानमा छ । आईपीएलमा आज सनराईजर्स हैदराबादले घरेलु मैदानमा चेन्नाई सुपर किङ्सलाई स्वागत गर्नेछ ।

Comments are closed.