काठमाडौं – नेपाली सेनाले रिक्त २ सय ८० जना अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। जंगी अड्डास्थित भर्ना छनोट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गरिने जनाएको हो।
निर्देशनालयका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले शुक्रबारदेखि भदौ १८ गतेसम्म तोकिएको ढाँचामा आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक योग्यता, प्रक्रिया, परीक्षा तथा अन्य विवरण नेपाली सेनाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ। आवेदन प्रक्रिया तथा थप जानकारी नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने निर्देशनालयले जनाएको छ। सेनाले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न योग्य उम्मेदवारलाई आग्रह गरेको छ।







